०७ साउन २०८३, बिहीबार

सिन्धुपाल्चोक बस दुर्घटनाको कारण खुल्यो, यस्तो छ घाइतेको बयान

कात्तिक १७, २०७६
सिन्धुपाल्चोक बस दुर्घटनाको कारण खुल्यो, यस्तो छ घाइतेको बयान

बनेपा। सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएकाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा बस सुनकोशी नदीमा खसेको थियो । 

सो दुर्घटनामा परी घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको ४८ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेकामध्ये १४ जना उपचारपश्चात् घर फर्किसकेको र चार जनालाई थप उपचारका लागि काठमाडौ पठाइसकेको छ ।

मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ्गेश्वरी गाउँपालिका–५ की ५२ वर्षीया चेतकुमारी बस्नेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइतेमध्ये तीन जनाको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं ४ का छ वर्षीया सलिना तामाङ रहेका छन् । घाइतेका अनुसार भैँसेमा खाना खाएपछि गुडेको गाडी तीव्र गतिमा रहेको र सुकुटेमा आइपुगेपछि गाडी बल्ड्याङ खाएर नदीमा खसेको थियो ।

तीव्रगति र बढी लोडका कारण दुर्घटना

सो गाडीमा यात्रारत रहेका घाइतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्रगतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । सुनकोशी गाउँपालिका–६ सानुपाखरका घाइेत लोकबहादुर थापाका अनुसार भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्रगतिमा गुडाएको थियो । यता सुकुटे आइसकेपछि घुम्ती जस्तो ठाउँमा एकपटक घटक्क गरेको आवाज सुन्नेबित्तिकै एकैचोटी बल्ड्याङ खाएर गुल्टेको उनले बताए । 

“गाडी एक्कासी गुल्टेपछि नदीमा डुब्यो । म चाहिँ सिट पन्छाएर बाहिर निस्केपछि पाँच जनाजति महिला र पाँच जना बच्चालाई तानेर निकालेँ । त्यसपछि आफैँ श्वास फेर्न नसकेपछि फर्केर हेर्दा आफ्नै श्रीमती पनि छट्पटिएर बसेको रहेछ”, उनले भने, “बल्लबल्ल उनलाई तानेर बाहिर ल्याएर माथि आएपछि ट्रकमा चढेर अस्पताल आएको हुँ ।”

salt training

कमेन्ट गर्नुहोस्