२३ असार २०८३, मंगलबार

नेकपा भक्तपुर कार्यालयमा तालाबन्दी

कात्तिक १८, २०७६
नेकपा भक्तपुर कार्यालयमा तालाबन्दी

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । 

नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । 

टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो । 

तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिनुभएको थियो । 

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रुपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए। 

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत् पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्