काठमाडौं – इराकका प्रधानमन्त्री अदेल अब्दुल महादीले विरोध प्रदर्शनहरू रोक्न अनुरोध गरे पनि त्यसलाई लत्याउँदै हजारौं सरकारविरोधी प्रदर्शनकारीहरूले सोमवार प्रदर्शन गरेका छन् ।
अक्टोबर १ बाट शुरू भएको प्रदर्शनका क्रममा २५० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
दुई वर्षसम्म स्थिर रहेको इराक यिनै विरोध प्रदर्शनका कारण अस्थिर बनेको छ ।
प्रधानमन्त्री माहदीले प्रदर्शनका कारण इराकी अर्थतन्त्रले अर्बौं डलर गुमाउनुपरेको र दैनिक जीवन अस्तव्यस्त भएको बताए ।
इराकमा प्रशस्त तेल भए पनि धेरै मानिस गरीबीमा बसिरहेका छन् र उनीहरूले सफा पानी, बिजुली, स्वास्थ्यसेवा वा शिक्षामा पहुँच पाएका छैनन् ।
‘युवाहरू आर्थिक कठिनाइ, विस्फोटनका घटना र दमनका साथ बाँचिरहेका छन् । हामीहरू राजनीतिक सम्भ्रान्तहरूलाई निर्मूल पार्न चाहन्छौं । हामीहरू यो आपराधिक समूहबाट मुक्ति चाहन्छौं अनि बल्ल हामीले आराम पाउँछौं होला,’ नाम बताउन नचाहने एक विरोधकर्ताले भने ।
प्रधानमन्त्री माहदीले आफ्नो उत्तराधिकारीको विषयमा सहमति बनेमा राजीनामा दिने घोषणा समेत गरेका थिए अनि अनेकौं सुधारको वाचा गरेका थिए । तर विरोधकर्ताहरूले त्यतिले मात्र नपुग्ने र राजनीतिक अभिजात वर्ग नै हट्नुपर्ने बताएका छन् ।
एजेन्सी