
काठमाडौं, २४ चैत - निर्वासित तिब्बती नेता दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणलाई लिएर भारत–चीन सम्बन्ध पुनस् एकपटक चिसिएको छ । चीनले यो भ्रमणले ‘दुईपक्षीय सम्बन्धमा दरार ल्याएको’ बताइरहेको छ भने भारतले लामाको ‘नियमित भ्रमण भएको र कृत्रिम विवाद सिर्जना गर्न खोजिएको’ जिकिर गरेको छ ।
भ्रमण पूर्ण रूपमा धार्मिक भएको दाबी गर्दै यसमा चीनले हस्तक्षेप गर्न नहुने भारतको भनाइ रहेको छ । चिनियाँ अधिकारी तथा सञ्चारमाध्यमले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामाको सम्बन्धमा यस अगाडिका सरकारले भन्दा फरक नीति लिएको दाबी गरेका छन् ।
भारत–चीन सम्बन्ध त्यस्तो बेला चिसिएको छ, जति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक भेटदै छन्, यसै साता फलोरिडामा । भारत र चीन दुवै अमेरिकासँगको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन चाहिरहेका छन् ।
चीनले अरुणाचल एक ‘विवादित भूमि भएको र लामा एक पृथकतावादी’ नेता भएकाले उनको भ्रमण आफूलाई स्वीकार्य नहुने जनाएको छ । भारतले भने लामालाई आफूले एक धार्मिक नेताका रूपमा लिएको तर चीनले जबरजस्ती त्यसलाई राजनीतिक बनाएको आरोप लगाएको छ । दलाई लामाले साता लामो अरुणाचल प्रदेशको भ्रमण सुरु गरिसकेका छन्, जहाँ उनी विभिन्न धार्मिक विचार विमर्श र ‘लेक्चरहरू’मा सामेल हुने कार्यक्रम छ । उनको अरुणाचल भ्रमण यो पाँचौंपल्ट हो ।
लामाले तवाङमा रहेको महत्त्वपूर्ण गुम्बासमेत भ्रमण गर्ने भनिए पनि मौसमका कारण रोकिएको छ । उनी त्यहाँ जाने निश्चितप्रायस् छ । ‘हामीले अनेकौंपटक विभिन्न समयमा भनिरहेका छांै कि दलाई लामा सम्मानित धार्मिक नेता हुन्, भारतीय जनताले उनलाई ठूलो सम्मान गर्छन् । त्यसैले उनको भ्रमणको विषयमा कृत्रिम विवाद सिर्जना नगर्न आग्रह गर्दछौं,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चिनियाँ विदेश मन्त्रालयले भने लामालाई विवादित भूमिको भ्रमण गराएर भारतले आफ्नो राष्ट्रिय स्वार्थलाई धक्का दिएको र दुईपक्षीय सम्बन्ध बिगारेको जनाएको छ । चिनियाँ सरकारले बुधबार नै चीनका लागि भारतीय राजदूत विजय गोखलाई भ्रमणको विषयमा आफ्नो विरोध रहेको जानकारी गराएको छ ।
मार्च १७ मा लामाले भारतको विहारमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिता जनाएकोमा पनि चीनले तीव्र विरोध गरेको थियो । फेब्रुअरी दोस्रो साता ताइवानको संसदीय टोलीले भारत भ्रमण गरेकामा चीनले असन्तुष्टि जनायो । त्यसपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भ्रमण औपचारिक नभएको जनाएको थियो । केही महिनाअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलाई लामालाई भेटको सम्बन्धमा पनि बेइजिङले विरोध जनाएको थियो ।
चीनले पछिल्लो समय भारतले दलाई लामाको विषयलाई लिएर अन्य दुईपक्षीय एजेन्डासँग बार्गेनिङ गर्न खोजेको आरोप लगाएको छ । दुई देशबीच आधा दर्जनभन्दा बढी विषयमा तीव्र विमति रहँदै आएको छ । विशेषतस् न्युक्लियर सप्लायर्स ग्रुपको सदस्य, पाकिस्तान, राष्ट्रसंघीय सुरक्षा परिषद्मा मसुद अजहरलाई आतंकारी घोषणा गर्ने प्रस्ताव, वान बेल्ट वान रोड, साउथ चाइना सी र दलाई लामाको विषयमा दुई देशबीच विवाद छ । यी विषयबारे समाधान निकाल्न दुई महिनाअघि दुई देशबीच रणनीतिक वार्ता भएको थियो, तर त्यो निष्कर्षमा पुग्न सकेको छैन ।
गत वर्ष भारतले न्युक्लियर सप्लायर्स ग्रुपको सदस्य बन्न निवेदन दिएको थियो । त्यसमा छलफल पनि भयो । तर चीनले केही प्रक्रियागत विषय उठाएर आफूलाई सदस्यताबाट वञ्चित बनाएको भारतको गुनासो छ । त्यसपछि भारतले निरन्तर भनिरहेको छ, ‘कुनै विशेष एक मुलुकले विरोध गरेका कारण हामीले सदस्यता प्राप्त गरेनौं ।’ सदस्यता प्राप्त गर्न दुई देशबीचमा निरन्तर वार्ता भइरहेको छ, तर ‘आइसब्रेक’ भइसकेको छैन । चिनियाँ सरकारी सञ्चार माध्यमले भने यही विषयको बार्गेनिङका रूपमा लामालाई भारतले अरुणाचल प्रदेशको भ्रमण गराएको दाबी गर्दै आएका छन् ।
केही वर्षयता चीनको ‘ड्रिम प्रोजेक्ट’ वान बेल्ट वान रोड पनि दुई देशबीचमा दूरी बढाउने कारण बनेको छ । उक्त परियोजनाको अंश भारत–पाकिस्तानको विवादित भूमिका रूपमा रहेको कश्मीर हुँदै चीन–पाकिस्तान इकोनोमिक करिडोरको रूपमा अघि बढ्छ । त्यसैले भारतले यसलाई रोक्न आग्रह गर्दै आएको छ । तर चीन यो मेघा परियोजना रोक्ने पक्षमा छैन ।
असमझदारीको अर्को महत्त्वपूर्ण विषय हो– राष्ट्रसंघीय सुरक्षा परिषद्मा मसुद अजहरलाई आतंकारी घोषणा गर्ने प्रस्ताव । भारत यो प्रस्ताव पारित गराउन चाहन्छ । चीन त्यसका लागि तयार छैन । दुईपक्षीय वार्ता निरन्तर भए पनि यसमा प्रगति हुन सकेको छैन । चीनले राष्ट्रसंघमा पुनस् मतदान भएमा भिटो प्रयोग गर्ने जनाइसकेको छ । साउथ चाइना सी र चीन–पाकिस्तानबीचको बढदो सामीप्य एसियाका यी उदीयमान राष्ट्रबीचको सम्बन्धमा दरार उत्पन्न गराउने अर्को कारण बनेको छ ।
पाकिस्तानको विषय पनि दुई देशबीचको सम्बन्धमा पेचिलो रहेको छ । पाकिस्तानले आतंकवादी गतिविधिलाई बढावा दिइरहेकाले चीनले त्यस विषयमा बोल्नुपर्ने भारतको धारणा छ । चीन यो विषयमा कुरा गर्न तयार छैन । चीन–पाकिस्तान सम्बन्धलाई ‘अल वेदर फ्रेन्ड’ को रूपमा व्याख्या गरिन्छ । विश्लेषकका अनुसार दलाई लामालाई लिएर बर्सेनि विवाद हुने गरे पनि पछिल्लोपटकको विवादले भारत र चीनबीचको बढदो दूरीलाई संकेत गरेको छ ।
- कान्तिपुर