
बाँके – ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा २ जनाको मृत्यु भएको छ ।
मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । शुक्रवार राति २ बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।
राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे१त २९०१ नम्बरको ट्रयाक्टर र म२प ७०३४ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्रयाक्टरका चालक फरार छन् ।