काठमाडौं– प्रदेश सभाअन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट बागी उम्मेदवारी दिएका शेरमान घर्तीको उम्मेदवारी कायम रहने भएको छ ।
उक्त क्षेत्रमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने निर्णय गरेपछि शेरमानले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपाकै स्थानीय नेताहरू दधिराम अर्याल प्रस्तावक र रिमबहादुर विक समर्थक छन् ।
बागी उम्मेदवारी दिएका घर्तीलाई आइतवार बुर्तिबाङबाट हेलिकप्टरमा राखी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो । तर समय घर्किएपछि घर्तीको उम्मेदवारी फिर्ता हुन सकेन ।
अघिल्लोपटक पनि यस क्षेत्रमा नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाएको थियो । प्रतिनिधि सभामा जनमोर्चाले नेकपालाई साथ दिएको थियो ।