
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताका विषयमा परामर्श गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार आइतवार अपराह्न १ बजेतिर प्रचण्ड बालुवाटार पुगेका थिए । 'उहाँहरूबीच पार्टी एकताका विषय र अन्य समसामयिक विषयमा छलफल भयो,' स्रोतले लोकान्तरसँग भन्यो ।
'समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भए,' स्रोतले भन्यो, 'मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत हुनुहुन्छ, तर उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा छलफल चलिरहेको छ ।'
पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रममा बारेमा दुई अध्यक्षबीच पटक-पटक भेटघाट हुने भएपनि पछिल्लो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रवार आफ्नो सचिवालय र सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
त्यससँगै मन्त्रिपरिषद् हेरफेर हुने चर्चा पनि चलेको छ । मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच यसअघि पनि पटक-पटक छलफल हुने गरेको थियो ।
पार्टीको केन्द्रीय कमिटी एक भएको तीन महिनाभित्र एकताका बाँकी सबै काम पूरा गर्ने प्रतिबद्धता नेताहरूले गरे पनि १७ महिनासम्म एकता प्रक्रिया टुंगो लागेको छैन ।