काठमाडौं – भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलापछि अयोध्यामा राम मन्दिर निर्माणको बाटो खुलेको छ ।
चैत २० गते रामनवमीका दिन एक विशेष कार्यक्रममा भव्य राम मन्दिरको निर्माण शुरू हुने सम्भावना छ ।
सर्वोच्चले केन्द्र सरकारलाई तीन महिनाभित्र मन्दिर निर्माणका लागि एक ट्रस्ट बनाउने आदेश दिएको छ ।
राम मन्दिरको शिलान्यास गर्ने हो कि हैन भन्ने कुरा स्पष्ट छैन किनकि सन् १९८९ मा राम मन्दिरको शिलान्यास भइसकेको छ । सरकारी सूत्रहरूले बताएअनुसार, मन्दिर बनाउन दुईदेखि तीन वर्षको समय लाग्न सक्छ ।
उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयले अयोध्याका जिल्ला अधिकारीहरूलाई मस्जिदका लागि आवश्यक पाँच एकड जमीनका लागि चारवटा जति वैकल्पिक स्थान पत्ता लगाउन भनेको सूत्रहरूको कथन छ । महत्त्वपूर्ण लोकेसनमा रहेको जमीन सुन्नी सेन्ट्रल वक्फ बोर्डलाई मस्जिद बनाउन दिइनेछ ।
सुन्नी वक्फ बोर्डले पाँच एकड जमीन लिने कि नलिने अनि लिएमा कुन ठाउँमा लिने भनी यसै महिना निश्चित गर्नेछ ।
एजेन्सी