
काठमाडौं– नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि त्यस सम्बन्धमा छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा बोलाइएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका छन् ।
सोमवारको बैठकमा सभापति शशि श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने सन्देश प्राप्त भएको जानकारी गराइन् । सभापति श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना समेत गरिन् ।
संसदीय समिति बैठकमा स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा भने सहभागी भए ।
प्रधानमन्त्रीको अनुपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका छन् ।
बैठकमा बोल्दै मन्त्री अर्यालले सर्वपक्षीय बैठकमा भएको सहमतिअनुसार सीमा समस्या समाधानका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिइन् ।
भारतीय पक्षबाट पनि सकारात्मक सन्देश प्राप्त भएको उनको जिकिर छ ।
सोमवारको बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित भएका छन् ।
प्रचण्ड समितिको बैठकमा आक्कलझुक्कल मात्र उपस्थित हुने गरेका छन् ।