
काठमाडौँ - कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै विरोध भएपछि सरकारले भारतसँग वार्ता गर्न तयारी थालेको छ ।
भारतको यो कदमको नेपालमा कडा विरोध भएपछि सरकारलाई भारतसँग वार्ता गरेर विवाद समाधान गर्न दबाब परेको हो ।
सोमवार बिहान बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीले भारतसँग वार्ता गर्ने प्रस्ताव पेश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
'सीमा विवादलाई नेकपाले गम्भीरतापूर्वक लिएको छ,' श्रेष्ठले भने, 'यस विषयमा सरकारले आफ्नो अडान प्रष्ट पारिसकेको छ । सरकारले भारतसँग वार्ताका निम्ति प्रस्ताव तयार पार्ने काम गरिरहेको छ ।'
सचिवालय बैठकमा सीमा विवादबारे कुता उठेको भन्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई भारतसँग वार्ता गर्ने सरकारको तयारी रहेको जानकारी गराएको बताए ।
'यस विषयमा हाम्रो छलफल भएको छ,' श्रेष्ठले भने, 'प्रधानमन्त्रीले पार्टीलाई पनि जानकारी गराइसक्नुभएको छ । त्यही अनुसार अघि बढिन्छ ।’