
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट भातृसंगठन नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले विधानविपरित तदर्थ समिति आउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमवार राजधानीस्थित पद्मकन्या क्याम्पसमा आयोजित एक कार्यक्रममा नेविसंघका नेताहरूले विधानलाई नगरी तदर्थ समिति आए आफूहरूलाई मान्य नहुने चेतावनी दिएका हुन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको संयोजकत्वमा आयोजना गरिएको ‘माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विधान मिच्दा नेविसंघमा सांगठानिक असर पर्ने भन्दै नेतृत्वमाथि प्रश्नचिन्ह उठेको छ ।
भट्टले देशभरिबाट पार्टीले हार्दै जाने तर नेविसंघका लागि बनाएको विधान कार्यान्वयन गर्न नसक्नुले पार्टी र नेविसंघभित्र थप चुनौती आइपरेको बताए ।
‘नेविसंघभित्र देखिएको समस्यालाई पार्टीका नेताहरू मिलेर तत्काल समाधान गर्नुको विकल्प छैन,’ भट्टले भने, ‘यद्यपि हामीले आगामी उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सहयोग गर्नेछौं । तर हाम्रो समस्यामा पार्टीले आँखा चिम्लिन मिल्दैन ।’
अन्तरक्रिया कार्यक्रममा लिपुलेक सीमा विवाद तत्काल हल गर्नुपर्ने, गोविन्द केसीले उठाएका मागहरू तत्काल सम्बोधन गर्नुपर्ने लगायतका मागहरू उठेका छन् ।