
काठमाडौं – भारतको अहमदाबादमा एक पतिले आफ्नी पत्नीको जिभ्रोलाई चक्कुले काटिदिएका छन् ।
अय्युब मन्सुरी नामक ती क्रूर पतिले पत्नीलाई चुम्बन गर्ने बहानामा जिभ्रो काटिदिएका हुन् । पत्नीलाई जिभ्रो काटिएपछि खान समस्या परेको छ ।
‘म सामान्य रूपमा खाना खान सक्दिनँ र चपाउन पनि सक्दिनँ । मेरो परिवारले मिक्सरमा खाना पिँधेर मलाई खुवाउने गरेको छ,’ पत्नीले भनिन् ।
नर्सका रूपमा काम गर्ने पत्नी माइत फर्किएकी छन् र उनलाई दाइभाउजुले स्याहार गरिरहेका छन् ।
चिकित्सकहरूका अनुसार, पतिले जिभ्रोको ४० प्रतिशत भाग काटिदिएका छन् जसले गर्दा उनको बोली बिग्रेको छ ।
उनको बोलेको बुझ्नका लागि श्रोताले निकै ध्यान दिनुपर्ने हुन्छ ।
‘हामीहरूले जिभ्रोको क्यान्सरको उपचार त गरिरहेका हुन्छौं तर मानिसले गर्दा जिभ्रो समस्यामा परेको यो पहिलो केस हो । हामीहरूले यस्तो केस पाठ्यक्रममा समेत पढेका थिएनौं,’ भीएस अस्पतालका प्लास्टिक सर्जन डा शैलेन्द्र सिंहले बताए ।
अब तीन महिनापछि आफूहरूले हात वा तिघ्राबाट छाला निकालेर जिभ्रो बनाउने बताएका छन् ।
‘हामीहरू माइक्रोसर्जरी गर्नेछौं र नसाको कनेक्सजन पनि गराउनेछौं । उनको काटिएको जिभ्रोमा छाला जोडिएपछि उनले खाना भित्रतिर छिराउन सक्छिन् र जिभ्रोको मुख्य काम नै त्यही हो । उनको बोलीमा पनि सुधार आउनेछ,’ डा सिंहले बताए ।
ती महिलाको त्यो दोस्रो विवाह थियो । उनीहरूबीच कहिलेकाहीँ झगडा हुने गरेको भए पनि पतिले अपेक्षै नगरेको बेलामा जिभ्रो काटिदिए । ‘त्यो दिन सबैकुरा शान्तिपूर्ण नै थियो । हामीले केक खायौं र म पल्टिएँ । उसले मलाई चुम्बन गर्न चाहेको बतायो । हामीहरूले चुम्बन गर्यौं र उसले अचानक मेरो जिभ्रो बाहिर तान्यो अनि काटिदियो,’ महिलाले भनिन् ।
आफूलाई यसरी आक्रमण गरिएपछि उनी स्तब्ध भइन् र कहिले पनि आक्रमणकर्ताको घर नजाने बताइन् ।
एजेन्सी