
राजविराज – सप्तरीको छुट्टाछुटै स्थानमा मंगलवार भएको आगलागीबाट २ घरमा क्षति भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा करीब २ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
स्थानीय विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित १ थान मोबाइल गरी करीब २ लाख रुपैयाँ मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी संगीताकुमारी यादव बेहोस भएकी छन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।