
काठमाडौं – सुनसरी र पाँचथरमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मंगलवार भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स१झ २६८ नम्बरको गाडीले को३०प ५३०१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, पाँचथरमा मंगलवार राति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिप्पर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कंदै गरेको बा२क २९२० नम्बरको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।