काठमाडौं – महाराष्ट्रमा चुनावको परिणाम सार्वजनिक भएपछि भारतीय जनता पार्टीसँगको गतिरोधका कारण शिवसेनाले सरकार बनाउन नसकेपछि राष्ट्रपति शासन लागू गरिएको छ ।
शिवसेनाले भाजपासँग सम्झौता गर्ने ढोका भने खुलै राखेको छ । शिवसेना प्रमुख उद्धव ठाकरेले मंगलवार पत्रकार सम्मेलन गरेर यसको संकेत दिए । उनले भने, ‘भाजपाले शिवसेनासँग सम्बन्ध तोडेको हो, शिवसेनाले हैन ।’
पत्रकार सम्मेलनमा एक पत्रकारले उद्धवलाई भाजपाको विकल्प बाँकी नरहेको विषयमा प्रश्न गरे । प्रश्न सुनेर उद्धव रिसाए र भने, ‘तपाईंलाई किन यति हतारो ? यो राजनीति हो । राज्यपालले ६ महिना दिएका छन् नि । भाजपाको
विकल्प मैले अन्त्य गरेको हैन, भाजपा आफैंले हो । म लोकसभा चुनावमा एक्लै लड्न खोजिरहेको थिएँ, भाजपा सँगै लडौं भन्न आइपुग्यो, मैले उसको भावनालाई सम्मान गरें ।’
उद्धवले थपे, ‘भाजपासँग मेरो साझेदारी उसैले सिध्याएको हो । भाजपा आफैं रनभुल्ल छ । प्रत्येक दिन नयाँ नयाँ अफर लिएर आउँछ ।’
महाराष्ट्र विभानसभामा कुल २८८ सीट छन् । भाजपाले १०५, शिवसेनाले ५६, एनसीपीले ५४, कांग्रेसले ४४ अन्य दलहरूले बाँकी सीट जितेका छन् ।
परिणाम घोषणा भएको २० दिन बितिसक्दा पनि महाराष्ट्रमा कुनै पनि दलीय गठबन्धनले बहुमतका लागि आवश्यक १४५ सीट ल्याउन सकेन । सरकार नबन्ने देखेर राज्यपाल भगत सिंह कोशियारीले राष्ट्रपति शासन लागू गर्ने सिफारिश गरे । राष्ट्रपतिको हस्ताक्षरपछि मंगलवार राति महाराष्ट्रमा धारा ३५६ अन्तर्गत राष्ट्रपति शासन लागू गरियो ।
एजेन्सी