१२ असार २०८३, शुक्रबार

स्थानीय चुनावः देउवाको जिल्लामा कांग्रेसलाई ‘एक्ल्याउने’ रणनीति

कात्तिक २०, २०७४
स्थानीय चुनावः देउवाको जिल्लामा कांग्रेसलाई ‘एक्ल्याउने’ रणनीति

काठमाडौं, २५ चैत– देशमा बहुदल आएपछि भएका चुनावमा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाहेक अन्यले जित हासिल गरेको इतिहास छैन । २०४८ साल बैशाख २९ गते भएको आम निर्वाचनमा डडेल्धुराबाट जित्न सुरु गरेका देउवा अहिलेसम्म हारेका छैनन् । डडेल्धुरामा एउटा भनाइ पनि छ, ‘देउवाले राजनीति गरुञ्जेल डडेल्धुरामा अन्य दलहरुले चुनाव जित्ने सोच नबनाए पनि हुन्छ ।’ तर, यसपटकको अवस्था भने केही फरक हुने अनुमान गरिएको छ ।

यसपटक डडेल्धुरामा कांग्रेसी वर्चश्वलाई चुनौती दिन २ प्रमुख कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहकार्य हुने चर्चा चलेको छ । जसले डडेल्धुरामा कांग्रेसलाई ‘ठूलै धक्का’ लाग्ने विश्लेषण गर्न थालिएको छ ।

२०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा देउवाले १ हजार ३ सय ६८ मतअन्तरले जित हासिल गरेका थिए । पहिलो संविधान सभाको चुनावमा देउवाले २० हजार ५ सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी तत्कालिन नेकपा माओवादीका नेता खगराज भट्टले १९ हजार १ सय ६१ मत प्राप्त गरेका थिए । यस्तै एमालेका उम्मेदवार बिक्रम बहादुर शाहीले ७ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।

तर, २०७० मंसिर ४ गते सम्पन्न संविधान सभाको दोस्रो चुनावमा भने देउवा लगभग १० हजार मतअन्तरले बिजयी भए । दोस्रो संविधान सभा निर्वाचनमा देउवाले २३ हजार ९ सय २०, माओवादीका खगराज भट्टले १२ हजार ४ सय ९३ र नेकपा एमालेका तारा प्रसाद जोशीले ७ हजार १ सय ९० मत प्राप्त गरेका थिए ।

एमाले र माओवादी मिले कांग्रेस कमजोर !

संविधान सभाका २ वटा निर्वाचनमा प्राप्त मतपरिणामअनुसार डडेल्धुराको राजनीतिमा नेपाली कांग्रेसको पकड बलियो रहेको देखिन्छ । यद्यपी देउवको गृहजिल्लामा कम्युनिष्टहरुको प्रभाव पनि ‘कम’ छैन । यदी एमाले र माओवादी केन्द्रबीच तालमेल हुने अवस्था रह्यो भने डडेल्धुरामा देउवाको पार्टीले ठूलै धक्का लाग्ने देखिन्छ ।

जस्तो कि संविधान सभाको पहिलो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २० हजार ३ सय ३९४ मत प्राप्त गरेको थियो । उक्त मत तत्कालिन माओवादी र एमालेले प्राप्त गरेको मत संख्या भन्दा ६ हजार ६ सय १४ ले कम हुन आउँछ । तर, संविधान सभाको दोस्रो निर्वाचनमा भने माओवादी र एमालेले प्राप्त गरेको मत संख्या कांग्रेसको भन्दा ४ हजार २ सय ३७ ले कम छ । यसरी हेर्दा स्थानीय चुनावमा माओवादी र एमाले मिल्दैमा कांग्रेसलाई हराउन सकिने संभावना कम छ ।

तर, एमालेका एकजना जिल्लास्तरीय नेता अहिलेको परिस्थिति कांग्रेसका लागि अनकुल नरहेको बताउँछन् । खासगरी कांग्रेसको जिल्ला नेतृत्वमा विवाद बढेकाले त्यसबाट अन्य पार्टीहरुलाई फाइदा पुग्ने उनको भनाइ छ । कांग्रेसका जिल्ला सभापति कर्ण मल्ल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय मनमुटाव बढेपछि त्यसको असर जिल्लाभरको कांग्रेस पंक्तिमा परेको छ । कांग्रेसकै जिल्ला तहका नेताहरु पनि मल्लले एकलौटी गरेको भन्दै धेरैपटक उनको विरोधमा उत्रिएका थिए ।

डडेल्धुरा कांग्रेस सभापति मल्ल भने पार्टीमा कुनै विवाद नरहेको दावी गर्छन् । पार्टीका केन्द्रीय सभापतिको निर्देशनबमोजिम पार्टी पंक्ति निर्वाचनका लागि परिचालन भइसकेको उनले बताए ।

कांग्रेसमा आंकाक्षीको संख्या बढी

२ ओटा नगरपालिका र ५ ओटा गाउँपालिका गरी कुल ७ स्थानीय तह रहेको डडेल्धुरामा स्थानीय चुनावमा उम्मेद्वार बन्न इच्छुक व्यक्ति (आकांक्षी)को संख्या अन्य पार्टीको तुलनामा नेपाली कांग्रेसमा बढी छ । सदरमुकाम रहेको अमगरढी नगरपालिकामा मेयरको उम्मेदवार बन्न मात्रै कांग्रेसभित्रत्र ४ जना आकांक्षी छन् । कतिपयले आफूले कांग्रेसबाट टिकट नपाए स्वतन्त्र भएपनि चुनावमा उठ्ने दावी गरिरहेका छन् । जसबाट कांग्रेसका भोट काटिन सक्ने अनुमान छ । अमरगढी नगरपालिकामा मेयरको उम्मेदवार बन्न कांग्रेसबाट मोहन पाठक, डिल्लीराज जोशी, हरि भट्ट र तारक बुढाऐर अग्र पंक्तिमा छन् ।

यस्तै भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिकामा मेयरको उम्मेदवार बन्न कांग्रेसबाट ३ जना लबिङमा छन् । कांग्रेसबाट परशुराममा मेयरको उम्मेदवार बन्न तारीसिंह बोहरा, धर्मानन्द भट्ट र कैलाश कुमार पाण्डेय आन्तरिक प्रतिस्पर्धामा छन् ।

एमाले पनि कम छैनन् आकांक्षी

जिल्लाका २ वटा नगरपालिकामा मेयरको उम्मेदवार बन्न नेकपा एमालेमा पनि आकांक्षीको संख्या ठूलो छ । अमगरगढी नगरपालिकामा मेयरको उम्मेदवार बन्ने दौडमा एमालेका ४ जना नेताहरु अगाडि छन् । एमालेबाट विपिन ओझा, विष्णु भट्ट, सकुन्तला नगरकोटी र यज्ञराज अवस्थी अमरगढीको मेयरका लागि आकांक्षी हुन् ।

यस्तै भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिकामा मेयरको उम्मेदवार बन्न एमालेबाट पठानसिंह बोहरा र केशव बोहरा दौडधुपमा छन् ।

यद्यपी परशुराम नगरपालिकामा एमाले र माओवादीबीच तालमेल हुन सक्ने संभावना छ । तालमेल भए परशुराममा एमालेले माओवादीका उम्मेदवारलाई समर्थन गर्ने छ । परशुराममा मेयरको लागि माओवादीले शेरसिंह माललाई अगाडि सारेको छ । अन्य पार्टीको तुलनामा परशुराम नगरपालिकामा माओवादीको बलियो पकड मानिन्छ ।

यस्तै माओवादीले पनि अमरगढी नगरपालिकाको मेयरमा एमालेलाई समर्थन गर्नसक्ने संभावना छ । अमरगढी नगरपालिकाका लागि उम्मेदवार बन्न कुनै माओवादी नेता खुलेर अगाडि नआउनुले पनि त्यो संकेत गरेको धेरैको अनुमान छ । खुलेर नआए पनि माओवादी नेता करुणाकर ओझा र यज्ञराज जोशीले अमगरढीको मेयरका लागि टिकट पाउन भित्र भित्रै तयारी गरेको चर्चा पनि छ ।

नगरपालिका भन्दा गाउँपालिकामा अस्तित्वको लडाईं

साविकको असिग्राम, गणेशपुर, मष्टमाडौं र कैलपालमाडौं गाविस मिलाएर बनेको गन्यापधुरा गाउँपालिकाले डडेल्धुरामा हुने चुनावी चर्चामा नगरपालिकाको भन्दा बढी महत्व पाएको छ । कांग्रेस सभापति देउवाको जन्मथलो भएकैले गन्यापधुराले नगरपालिका र अन्य गाउँपालिका भन्दा बढी महत्व पाएको हो ।

यस्तै एमालेका जिल्ला अध्यक्ष तारादत्त जोशीको घर पनि गन्यापधुरामै पर्छ । एमालेको जिल्ला तहमा प्रभाव पार्ने धेरैजसो नेता गन्यापघुराकै बासिन्दा हुन् । जसकारण गन्यापधुरामा स्थानीय चुनाव एमाले र कांग्रेसका लागि अस्तित्वको लडाईं बन्ने देखिन्छ ।

केन्द्रीय सभापति देउवाको गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्न कांग्रेसबाट नवलसिंह मल्ल, शेरबहादुर भण्डारी, सुरेन्द्र माली, रोहित देउवा र इन्द्र कार्की दौडधुपमा छन् । यस्तै एमालेका नरबहादुर विष्ट, वीरेन्द्र मल्ल र धनबहादुर शाही टिकटका लागि दौडधुपमा छन् । गन्यापधुरामा कमजोर रहेको माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बन्न गणेश सार्की, ईश्वर भण्डारी र चेतराज भट्ट आन्तरिक प्रतिस्पर्धामा छन् ।

माओवादीका पोलिब्यूरो सदस्य गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा

जगत पार्की नेकपा माओवादी केन्द्रका पोलिब्यूरो सदस्य हुन् । तत्कालिन जनमोर्चा नेपाल र माओवादीबीचको एकीकरणबाट बनेको एकीकृत माओवादीमा पनि उनी केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विशेष सम्बन्ध विस्तार गर्न सफल पार्की अहिले गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा छन् ।

माओवादी केन्द्र डडेल्धुराका अनुसार पार्की आलीताल गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको छ । यसअघि भित्रि मधेस क्षेत्रमा भएको अवैध काठ कटानीमा संलग्न रहेको भनेर आलोचित बनेका पार्की आफ्नो व्यवसायलाई पुनः सुचारु गर्न आलीतालको अध्यक्ष बन्ने दौडमा रहेको माओवादीकै नेताहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्