
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीका केही सल्लाहकार र सचिवालय सदस्यले राजीनामा दिएपछि खाली ठाउँमा नयाँलाई नियुक्ति दिनका लागि मन्त्रिपरिषद बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
'साँझ ६ बजे क्याबिनेट बोलाइएको छ,' एक मन्त्रीले लोकान्तरलाई भने, 'सल्लाहकार नियुक्तिलगायत अन्य केही नीतिगत निर्णय हुने सम्भावना छ ।'
राजीनामा दिएकामध्ये आधाजसो सचिवालय टीम यथावत रहनेछ । ६ जनाको मात्र राजीनामा स्वीकृत भएको थियो ।
मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाई, आइटी विज्ञ असगर अली लगायत अन्य सदस्यहरू होम थापा, दिपेन्द्र दाहाल यथावत रहने स्रोतको दाबी छ ।