०९ साउन २०८३, शनिबार
प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता

प्रधानमन्त्रीको आत्मविश्वासका कारण मिर्गौला पुनः प्रत्यारोपणमा जोखिम कम !

मंसिर १, २०७६
प्रधानमन्त्रीको आत्मविश्वासका कारण मिर्गौला पुनः प्रत्यारोपणमा जोखिम कम !

मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीमा भएको आत्मविश्वासका कारण पुनः प्रत्यारोपणमा जोखिम निकै कम रहेको दाबी गरेका छन् ।

आइतवार लोकान्तरसँग कुरा गर्दै विशेषज्ञ काफ्लेले उच्च आत्मविश्वास हुने हो भने मिर्गौला प्रत्यारोपणपछिको जोखिम कम हुने बताए । 

'उहाँ जुन फुर्तिका साथ डायलासिस गर्न जानु/आउनु भएको छ, त्यसले उहाँमा आत्मविश्वास उच्च छ भन्ने देखाउँछ,' काफ्लेले भने, 'उच्च आत्मविश्वास भएपछि जोखिम त्यसै कम भइहाल्छ ।'

डाक्टर काफ्लेले प्रधानमन्त्री नियमित डायलासिस र पुनः प्रत्यारोपणको स्थितिमा पुगिसकेको बताए ।

'उहाँको मिर्गौलाले काम नगरेको स्थितिमा डायलासिस भएको हो,' उनले भने, 'मिर्गौलाले काम गरेको भए डायलासिस हुन्थेन । एक दुईपटक डायलासिस गरेर सुधार भएको भएपनि फेरि डायलासिस गर्नुपर्ने थिएन । अब उहाँ कि डायलासिस गरिरहनुपर्ने अवस्थामा जानुभयो, होइन भने मिर्गौला पुनः प्रत्यारोपण गर्ने स्थितिमा जानुभएको हो ।' 

मिर्गौला पुनः प्रत्यारोपण गर्नका लागि नेपालमा केही कानूनी समस्या हुनसक्ने डाक्टर काफ्लेको भनाइ छ ।

'नेपालमा नातेदार नै चाहिन्छ, विनानातेदार चाहिँ हुँदैन,' उनले भने, 'हामीकहाँ नातेदारबाहेक अरूले दिन पाउँदैन तर भारतमा यससम्बन्धी कानून अलि खुला छ । भारतको प्रत्येक शहरमा सरकारले  अथोराइजेसन कमिटी बनाइदिएको छ । त्यो कमिटीले पैसाको लेनदेन छैन र विशुद्ध मानवीय ढंगबाट गरेको हो भने जसले पनि मिर्गौला दिन सक्नेगरी अनुमति दिन्छ ।' 

डाक्टर काफ्लेले डायलासिसका सन्दर्भमा अहिल्यै केही भन्न नसकिने बताए । 'लगभग १५ दिनको ग्यापमा हिजो डायलासिस भयो, हिजो गरिसकेपछि फेरि १/२ दिनमा गर्नुपर्ने हो कि भनेर भन्न गाह्रो छ,' उनले भने, 'किड्नी बिग्रियो भनेपछि यो बिग्रने क्रम कति छिटो जान्छ भनेर समय–समयमा हेर्दै गर्नुपर्‍यो । २/४ हप्तामा, १०/१५ दिनमा पनि डायलासिस हुन सक्छ, हप्ताको ३ पटक पनि हुन सक्छ ।' 

यसअघि भदौमा प्रधानमन्त्री ओली सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल गएर प्लाज्मा फेरोसिस गरेर आएका थिए । डाक्टर काफ्लेले त्यो उपचार प्रक्रिया असफल भएको टिप्पणी गरे । 

'प्लाज्मा फेरोसिस गरेर किड्नी ठीक भएन,' उनले भने, 'अब नियमित डायलासिस या पुनः प्रत्यारोपणबाहेक अन्य कुनै विकल्प छैन ।'

डाक्टर काफ्लेले थुनिएको पिसाब निकाल्न राखिएको 'स्टेन्ट' पनि निकालिएपछि अब प्रधानमन्त्री ओलीको युरिन आउटपुट कति हुन्छ भनेर नियमित हेरिरहनुपर्ने बताए । 

'स्टेन्ट पनि निकालिएको छ, पहिला पिसाब थुनिएको थियो र त्यसलाई खोल्न स्टेन्ट राखिएको थियो,' उनले भने, 'उहाँको स्टेन्ट पनि अहिले निकालियो । युरिन आउटपुट कति हुन्छ भन्ने पनि अब हेरिरहनु पर्छ ।' 

स्टेन्ट झिकेको अवस्थामा पिसाब राम्रो भइरह्यो भने जोखिम कम रहने नत्र भने छिटो डायलासिस चाहिन सक्ने दाबी उनले गरे । 'के कुरा सत्य हो भने, डायलासिस या प्रत्यारोपण नजिकै आयो,' उनले भने, 'अब मुख्य बिरामी उहाँ, उहाँको परिवार, मेडिकल टीम मिलेर के गर्ने भन्ने निर्णय छिटो लिनुपर्‍यो ।' 

पुनः प्रत्यारोपणमा त्यति समय नलाग्ने डाक्टर काफ्लेले बताए । 

'पुनः प्रत्यारोपणले उहाँको कार्यक्षमतामा धेरै फरक पर्दैन,' उनले भने, 'पुनः प्रत्यारोपण गरेपछि २ महिनामै उहाँ काममा फर्किन सक्नुहुन्छ । बढीमा ६ देखि ८ हप्ताको समय लिने हो ।'

शरीरमा एन्टीबडी बनेको हुनाले अलिकति बढी जोखिम हुन सक्ने डाक्टर काफ्लेले बताए । 

'रिस्क फ्याक्टर बढ्न सक्छ, एन्टीबडी बनेको हुनाले सेन्सेटाइज भएको छ स्वास्थ्य,' उनले भने, 'अहिले तत्काल पुनः प्रत्यारोपण पनि गर्न मिल्छ कि मिल्दैन भन्ने टेस्ट गर्नुपर्छ । उहाँमा अन्य समस्या पनि छन् । तैपनि यदि छिट्टै प्रत्यारोपण गर्नुभयो भनेदेखि फरक पर्दैन । छिट्टै हुन सक्ने देखिन्छ ।' 
 

salt training

कमेन्ट गर्नुहोस्