१० साउन २०८३, आइतबार

लुम्बिनीमा शुरू भयो न्यूज फेस्टिवल

मंसिर १, २०७६
लुम्बिनीमा शुरू भयो न्यूज फेस्टिवल

लुम्बिनीमा आइतबारदेखि न्यूज फेस्टिवल शुरू भएको छ ।

‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ शुरू भएको महोत्सवमा मुलुकभरका ३ सयभन्दा पत्रकारको सहभागिता छ । 

मंसिर ३ गतेसम्म समाचार महोत्सव मुलुकमै पहिलोपटक आयोजना गरिएको हो । 

कार्यक्रममा राजधानीको प्रमुख मिडियाका सम्पादकहरूको सहभागिता पनि रहेको क्लबका अध्यक्ष दीपेश पछाइले जानकारी दिए ।  

‘पत्रकारिता : चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नुपर्ने बाध्यता रहेको बताए । 

उनीहरूले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती देखा परेको बताएका छन् । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसको समाधानका लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार का बारेमा काउन्सिलमा धेरै उजुरी आएको बताए । उनले पत्रकारिता हतारमा गर्न नहुने धारणा पनि राखे । 

‘हुबहु/कपिपेस्ट पत्रकारिता सञ्चार क्षेत्रको मुख्य समस्या हो, खोजमूलक पत्रकारिताको आवश्यकता छ’, उनले भने ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए । उनले पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या भएको धारणा राखे ।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराका सन्दर्भमा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्स्याउनुपर्ने बताए ।

गाउँलेले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी उसले सरकारलाई प्रश्न गर्नुपर्ने धारणा पनि राखे । उनले भने, ‘परम्परागत मिडियाको शैलीका कारण रेडियोका स्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेको छ,’ उनले भने ।

पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरू दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दाबी गरे । उनले राजनीतिक दलको क्याडर बनेकाहरूले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरूको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताए ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताका लागि आवश्यक कुराको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए । कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारीले विचारबाट प्रभावित भएर समाचार बनाउन नहुनेमा जोड दिए ।

नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन् । उनले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समूहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपी पेस्टजस्तो देखिएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्