
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
५ जना मन्त्री र २ राज्यमन्त्री हट्ने निश्चित भएको छ । उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनालले आफूहरू हट्न लागेको बताएका छन् । ५ जना नयाँ मन्त्री थप्दै प्रधानमन्त्रीले बहालवाला केही मन्त्रीको कार्यविभाजन फेरबदलको तयारी गरेका छन् ।
नेकपा स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई त्यहाँबाट अन्यत्र सार्ने तयारी भएको छ । शुरूमा मन्त्रीबाट हट्ने सूचीमा रहेपनि उनी कायमै रहने सम्भावना प्रवल रहेको स्रोतले दाबी गरेको छ ।
खानेपानी मन्त्री बिना मगरको पनि कार्यविभाजन हेरफेरको तयारी छ । बिनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लैजाने तयारी छ ।
बिनाको ठाउँमा उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई लैजाने नेकपाको तयारी छ । तुम्बाहाम्फेले भने सभामुखको दाबी गरेकी छन् । सभामुख बनाउने सम्भावना नरहेको भन्दै उनलाई मन्त्री बन्न नेकपाले अफर गरेको छ ।
मन्त्री बन्ने चर्चामा रहेकी उपसभामुख तुम्बाहाम्फे बुधवार कार्यालयमा आएकी छैनन् । नयाँ बन्ने मन्त्रीलाई बुधवार अपराह्न शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ ।