
कर्णाली प्रदेशको एकमात्र विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नतिजा समयमा नआँउदा विद्यार्थीहरुले लोकसेवाको परीक्षा दिन पाउने अवसरबाट वञ्चित हुनुपरेको छ । विश्वविद्यालयले लिएको आठौं सेमेस्टर विभिन्न संकायका परीक्षाको रिजल्ट बुधवारसम्म आइसक्नुपर्नेमा नआएका कारण विद्यार्थीले लोकसेवाको परीक्षा दिने बाटो बन्द भएको हो ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ओम ठकुरीले लो्कसेवा आयोग तथा विश्वविद्यालयको कार्यतालिका फरक हुँदा सयौं विद्यार्थीले लोकसेवाको परीक्षा दिनबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।
‘अन्य विश्वविद्यालयको कार्यतालिका र लोसेवा आयोगको कार्यतालिकामा एकरुपता हुने भएका कारण उनीहरुले लोकसेवाको फाराम भर्न पाइरहेका छन् तर यहाँका विद्यार्थीको त्यो अवसर करिब सकिएको छ,’ उनले भने, ‘इन्जिनियरिङ तथा अन्य अधिकृत तहमा जागिरका लागि लोकसेवा आयोगले डबल दस्तुर सहित मंसिर २४ गतेसम्मका लागि दरखास्त आव्हान गरेको छ । यहाँ अध्ययनरत आठौं सेमेस्टरका विद्यार्थीले उक्त अवसर प्रयोग गर्न पाएनन् ।’
उनका अनुसार आठौं सेमेस्टरमा अध्ययनरत धेरै विद्यार्थी लोकसेवाको तयारी गरिरहेका छन् ।
सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी एवम अनेरास्ववियु क्रान्तिकारीका सुर्खेत अध्यक्ष जगत ढकालले विश्व्विद्यालयमा सुर्खेतका विद्यार्थी भन्दा अन्यत्रका विद्यार्थीलाई भर्ना गर्ने गरी नयाँ भर्ना आव्हान गरिएको बताए ।
‘एमबिएमा अध्ययनका लागि मंसिर ३० गतेसम्मको मिति तोकिएको छ,’ उनले भने, ‘यहाँ आठौं सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीले कहाँ जाने अध्ययन गर्न ?’
उनले बाहिरबाट विद्यार्थी ल्याउने र यहाँका विद्यार्थीलाई अध्ययन गर्न नदिने वातावरण विश्वविद्यालयले बनाइरहेको आरोप लगाए ।
‘यहाँका विद्यार्थीले पहिलो प्राथमिकता पाउनुपर्छ,’ उनले आक्रोश पोखे, ‘यसरी मनलाग्दी तरिकाले भर्ना खोल्ने काम गलत भएको छ । पहिले आठौं सेमेस्टरको रिजल्ट निकाल्नुपर्छ अनिमात्र भर्ना लिइनुपर्छ ।’
उनले सोही विद्यालयमा अध्ययन गरिरहेका विद्याथीहरुले प्रवेश परीक्षाको फाराम भर्न नपाउनु दुःखद भएको बताए । ‘सोही विद्यालयमा अध्ययनरत विद्यार्थी विश्वविद्यालय प्रशासनका कारण मास्टर डिग्रीको प्रवेश परीक्षा फाराम भर्न नपाउने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैको अधिकार हुँदैन ।’
यो निर्णय तत्काल सच्याइनुपर्ने उनको माग छ ।
इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी नेता निकुज पाण्डेले नतिजा प्रकाशन नहुँदा एक वर्ष पछि पर्नुपर्ने बाध्यता आएको बताए ।
‘अस्ति खोलेको प्राविधिक ईन्जिनीयर (अफिसर) को फारम छुट्यो, यो एउटा उदाहरण मात्र हो,’ उनले भने, ‘परीक्षाको समयमा नै रिजल्ट आएको भए हामीले एक वर्ष कुर्नपर्ने थिएन ।’
यता मानविकी संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले विभिन्न समयमा आन्दोलन हुने र अन्य कारणले विश्वविद्यालयले समय तालिका बनाई कार्यान्वयन गर्न समस्या भएको बताए ।
‘यहाँका विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् । माघ पाँच गतेसम्म समयावधी छ,’ उनले भने, ‘केही विद्यार्थीको रिजल्ट आउन छुटेको होला । यो अवधिमा सबै समस्या समाधान हुन्छ ।’