
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा मन्त्रिपरिषद्मा हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिमण्डल पुर्नगठनमा समाजवादी पार्टी नेपालका एक राज्यमन्त्रीको पद खोसिएको छ । सरकारका समाजवादी पार्टीको नेतृत्व गरेका उपप्रधान मन्त्री उपेन्द्र यादवको मन्त्रालय पनि फेरबदल भएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका डा सुरेन्द्र कुमार यादवको पद खोसिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि कानून मन्त्री रहेका भानुवक्त ढकाललाई दिएर राज्यमन्त्रीमा नवराज रावतलाई नियुक्त गरिएको छ ।
समाजवादी पार्टीले सम्हालेको शहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नेकपाका रामवीर मानन्धरलाई नियुक्त गरिएको छ । शहरी विकास मन्त्री समाजवादी पार्टीका मोहम्मद इश्तियार राई भने यथावत छन ।