०३ असार २०८३, बुधबार

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको पाल्पाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।

नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै ५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने संख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५/७६ मा ३७१ महिला विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पूर्ण संस्थागत सुत्केरी घोषणा बनाउन सहज भएको हो । सो अवधिमा युनाइटेड मिसन अस्पतालमा १८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा ११४ र जिल्ला अस्पतालमा ३ प्रसूति हुन आएका थिए ।

यसैगरी सो अवधिमा तानसेन नगरपालिकाको मदनपोखरा स्वास्थ्य चौकीमा ९, गाउँपालिकाभित्रको चापपानी स्वास्थ्यचौकीमा २१, खानीछाप स्वास्थ्यचौकीमा ११, नायरनमतलेस स्वास्थ्यचौकीमा ७, अन्य जिल्ला तथा विदेशमा २६ जना गरी ३७१ संस्थागत सुत्केरी भएको उल्लेख छ ।

१ वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार ४ पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्ने लगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पीएमटीसीटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टीटी खोप २ पटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्ने लगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।  

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताइन् । उनले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताइन् ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि गाउँपालिका निरन्तर वडादेखि कार्यक्रम सञ्चालन गर्दै आएकाले अहिले सफल बनेको बताए । गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएका छन् । चापपानी स्वास्थ्यचौकी, नायरनमतलेस स्वास्थ्यचौकी र खानीछाप स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएपछि सुत्केरी महिलालाई राहत मिलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्