०३ असार २०८३, बुधबार
मन्त्रिपरिषद् हेरफेर

सिंहदरबारबाट ‘रिङ आउट’ झण्डावाल : मन्त्री भएर के राम्रो गरे, कहाँ चुके ?

मंसिर ५, २०७६
सिंहदरबारबाट ‘रिङ आउट’ झण्डावाल : मन्त्री भएर के राम्रो गरे, कहाँ चुके ?

सिंहदरबारमा २० महिना काम गरेर ६ जना मन्त्री बाहिरिएका छन् । राम्रो काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले ६ मन्त्रीलाई बिदाइ गरेका हुन् ।

बुधवार बाहिरिएका केही मन्त्रीले सिंहदरबारभित्र रहँदा राम्रो काम पनि गरेका थिए । 

मातृका यादव : खरो स्वभावले टिक्न सकेनन्

खरो स्वभावका मातृका यादवले मन्त्री बनेलगत्तै इन्धन बोक्ने ट्यांकर चालकको दादागिरी तोडेका थिए । 

ट्यांकरको साँचो खोसेर सेना र प्रहरीका चालकमार्फत इन्धन ढुवानी गर्ने चेतावनीपछि आन्दोलन स्थगित भएको थियो । 

मातृकाले कालिमाटी तरकारी बजारमा भइरहेको बिचौलियालाई थुन्ने चेतावनी दिएर जालो तोडे । कालिमाटी बजार अनुगमनको क्षेत्राधिकारको विषयलाई लिएर कृषि मन्त्री र उनीबीच विवाद भयो । उनकै पालामा नेपालमा फलाम खानी स्थापना गर्ने निर्णय भयो । 

खरो स्वभावका मातृकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टकरावका कारण मन्त्री पदबाट हात धुनुपर्ने अवस्था सिर्जना भयो । २०६५ सालमा वन तथा भूसंरक्षण मन्त्री बनेको समयमा काम नगरेको भनेर डीएफओलाई शौचालयमा थुनेपछि मातृका चर्चा र विवादमा आएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारमा पनि मन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीसँगको टकरावका कारण यादव सरकारबाट बाहिरिएका छन् । यादवले केही महिना पहिलै आफू मन्त्री पदबाट हट्ने संकेत सार्वजनिक कार्यक्रममार्फत नै गरेका थिए । यहीँ कार्यकालमा पनि उनले मालअड्डामा सरुवा माग्न आएका कर्मचारीलाई हातपात गरेको आरोप लाग्यो ।

चक्रपाणि खनाल : भारतीय तरकारीमा विषादी रोक्ने पहल

माओवादी जनयुद्धमा लडाकू कमाण्डर रहेका चक्रपाणि खनाल पहिलो पटक निर्वाचित भएर संसदमा आएर मन्त्री बनेका हुन् । भारतबाट नेपाल भित्रिने तरकारीमा विषादी परीक्षण गर्नुपर्ने नीति ल्याएर उनी चर्चामा आएका थिए । भारतको चर्को दबाबपछि सरकार विषादी परीक्षणको निर्णयबाट पछि हट्यो । भारतसँग घुडा टेकेको भनेर सरकारको आलोचना भयो । 

मन्त्री खनालले भारतबाट आउने खसीबोकाको क्वारेन्टाइन जाँच गर्ने कडा नीति ल्याएपछि अहिले भारतबाट खसीबोकाको आयात रोकिएको छ । मन्त्री खनालको निर्णयपछि बाख्रापालक नेपाली किसानले राहत महसूस गरेका छन् । खनालले नै विदेशबाट आउने धूलो दूध आयातमा रोक लगाउने निर्णय गराएका छन् ।

धान रोप्ने समयमा रासायनिक मलको हाहाकार तथा उखुको मूल्य तोक्न नसकेको भन्दै स्वयं सत्तारुढ दलका सांसदले कृषि मन्त्रालय नै खारेजीको माग गरेका थिए ।

मलेसिया रोजगारीले खोस्यो गोकर्णको मन्त्री पद !

२०६७ सालमा पहिलो पटक ऊर्जामन्त्री बनेको समयमा विद्युत्को महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न आफैं हिँडेपछि चर्चा कमाएका गोकर्णले ओली सरकारको पालामा श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाएका थिए ।

गोकर्ण मन्त्री रहेको समयमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमको उद्घाटन भयो । गोकर्णको पालमा जापानसँग श्रम सम्झौता भयो । तर गोकर्णको अनिर्णयका कारण नेपालीको प्रमुख रोजगार गन्तव्य मलेसियामा १ वर्षसम्म कामदार पठाउने काम बन्द भयो ।

स्वदेशमा पनि विकल्प नदिने र विदेशमा कामदार पठाउन रोकेको भन्दै मन्त्री विष्टको आलोचना भयो । विदेश जाने कामदारको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तोड्न नसकेको तथा श्रम स्वीकृतिको नाममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न नसकेको आरोप उनीमाथि लागेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सार्वजनिक स्थानका गाई धपाउन र बाँदर लखेट्न समेत राज्यकोषको दुरूपयोग गरेर कार्यकर्ता पोस्ने काम भएको भन्दै उनको आलोचना भयो ।

ट्रेड युनियनको स्वार्थमा गुम्यो लालबाबुको मन्त्री पद

२०७० सालमा तत्कालीन सुशील कोइराला सरकारमा सामान्य प्रशासनमन्त्री बनेको समयमा डीभी र पीआरधारी कर्मचारीलाई जागिरबाट हात धुनुपर्ने कानून ल्याएर लालबाबु पण्डित चर्चामा आएका थिए ।

२०७४ फागुनमा शपथ गरेलगत्तै पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै लालबाबु छानिएका थिए । शुरूमा विज्ञान तथा वातावरण मन्त्रीको रूपमा काम गरेका पण्डितले १ महिनापछि सामान्य प्रशासन मन्त्रालयको जिम्मा पाएका थिए । 

कर्मचारी समायोजनको अपजसपूर्ण काम लालबाबुले समयमै पूरा गरे । कर्मचारी समायोजनामा असन्तुष्ट ट्रेड युनियनका नेताहरूले प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए । कर्मचारीका टे«ड युनियन हाबी हुँदा मन्त्री पण्डित बाहिरिए । 

थममायाले केही गरिनन्, केही बिगारिनन्

लामो समय नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेकी थममाया थापा पहिलो पटक मन्त्री बनेकी थिइन् । 

मन्त्री बनेको २ वर्षमा गाडी चढ्नेबाहेक केही काम नदेखिएको भन्दै मन्त्री थापालाई हटाउन लागिएको नेकपा स्रोत बताउँछ । 

‘उहाँ मन्त्रालयमा गएर न केही राम्रो काम गर्नुभयो, न बिगार्नु भयो,’ नेकपाका एक सांसद भन्छन् । 

सर्वाधिक बद्नाम मन्त्रीका रूपमा रहे रघुवीर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि मन्त्री पदबाट हात धोएका छन् ।

सिंहदरबारमा महासेठको झण्डै २० महिना लामो कार्यकाल बिर्सनलायक रह्यो । महासेठ ओली सरकारका सर्वाधिक बदनाम मन्त्रीमध्ये एक रहे । 

कुनैपनि निर्माणाधीन आयोजना समयमा सम्पन्न गर्न नसकेको भनेर उनको तीव्र आलोचना भयो । काठमाडौंका विस्तारित सडकहरू समयमा सम्पन्न गर्नेतर्फ उनले देखिने गरी कुनैपनि पहल गरेनन्, जसका कारण राजधानीबासी धूलो र हिलोको सास्ती खेप्न बाध्य छन् । 

‘काठमाडौंका विस्तारित सडक समयमा नबन्दा धूलो र हिलोका कारण बितेको दुई वर्षमा सरकारको सबैभन्दा बढी आलोचना भयो,’ नेकपाका एक नेता भन्छन्, ‘उहाँको कार्यसम्पादन मूल्यांकन सफ्टवेरमा हेर्नुपर्दैन, उहाँको घर जाने नख्खुको बाटो हेरे पुग्छ ।’

धनबहादुर, रामकुमारी र सुरेन्द्र पनि बिदा

ओली सरकारमा रहेका ३ राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि बिदा भएका छन् । बुढा र चौधरीले नेकपा तथा यादवले समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्