
बुढीगण्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुने बजार क्षेत्रलाई मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले गरिरहेको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् ।
गोरखा र धादिङ जिल्लाका विस्थापित हुने बजारहरू आरखेत, आरुघाट, खहरे लगायत बजार क्षेत्रको मुआब्जा निर्धारण हुनुपर्ने माग राख्दै आन्दोलित स्थानीयले बिहीवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् ।
धर्ना कार्यक्रममा डा. भट्टराई सहभागी भएका हुन् । डा. भट्टराईले ट्विट गर्दै लेखेका छन्, ‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना । यो महत्त्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् !’