
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका नवनियुक्त मन्त्री हृदयेश त्रिपाठीले निवर्तमान मन्त्री लालबाबु पण्डितको प्रशंसा गरेका छन् ।
बिहीवार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा शपथ ग्रहणपछि सिंहदरबार पुगेर त्रिपाठीले कार्यभार सम्हालेका हुन् ।
निवर्तमान मन्त्री पण्डितको प्रशंसा गर्दै त्रिपाठीले भने, ‘पहिलेको मन्त्रीले धेरै मेहनत गर्नुभएको थियो ।’ उनले आफू मन्त्री हुँदा सरकार फेरिएको नभइ मन्त्री मात्रै फेरिएकाले कार्यशैलीबाहेक अन्य कुरामा कुनै परिवर्तन नआउने स्पष्ट पारे ।
‘संघ, प्रदेश र स्थानीय तहलाई मिलाएर लैजान्छु,’ कार्यभार सम्हाल्दै उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर गर्दै पण्डितले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा हृदयेश त्रिपाठीलाई दिएका थिए ।
तत्कालीन तमलोपाबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।