
इरानका राष्ट्रपति हसन रूहानीले देशमा भइरहेको अशान्तिमाथि विजय प्राप्त गरेको दाबी बुधवार गरेका छन् । तेलको मूल्यमा अचानक वृद्धि गरिएपछि देशभरि विरोध प्रदर्शन भएको ६ दिनपछि रूहानीको यो भनाइ आएको हो ।
तेहरानमा एक सरकारी बैठकमा बोल्दै रूहानीले देश अर्को एक परीक्षामा विजयी भएको र देशमा आर्थिक समस्या तथा गुनासोहरू भए पनि इरान कहिले पनि शत्रुसमक्ष झुक्दैन भन्ने प्रमाणित भएको बताए भनी सरकारी टेलिभिजन प्रेस टीभीले जनायो ।
इरान सरकराले अहिलेको अशान्तिमा विदेशी शत्रुहरूको हात रहेको आरोप लगाएको छ । अशान्ति मच्चिएपछि इन्टरनेट लगभग पूरै ठप्प पारिएको छ र देशबाहिर कुनै सूचना पुग्न पाएको छैन । त्यसैले इरानमा के कति हताहती भयो भन्ने कसैले थाहा पाउन सकेको छैन ।
सरकारले इन्धनको मूल्य ३०० प्रतिशतले बढाउने घोषणा गरेपछि प्रदर्शनकारीहरू शुक्रवार सडकमा ओर्लिएका थिए । अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्र धर्मराएको स्थिति छ र त्यसले गर्दा उसको मुद्रास्फीति भएको छ र मूल्यवृद्धि भएको छ । अनि स्वास्थ्यसामग्री र खानेकुराको अभाव पनि व्यापक छ । इन्धनको मूल्यवृद्धि हुँदा आर्थिक स्थिति झनै ध्वस्त हुने देखिन्छ जसले गर्दा थप मूल्य बढ्न सक्छ ।
रूहानीले विरोधकर्ताहरू इरानी नभई सरकारविरोधी बलहरू भएको र प्रतिक्रियावादी क्षेत्रीय शक्तिहरू, जायनवादीहरू र अमेरिकीहरूले यसको योजना बुनेको बताए । इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले यी विरोध प्रदर्शनहरू सुरक्षासँग सम्बन्धित विषय भएको र इरानी जनताको आन्दोलन नभएको बताए ।
तर इन्टरनेट बन्द गरिएकाले विरोधकर्ताहरू र सामान्य मानिसको दृष्टिकोण थाहा पाउन गाह्रो परेको छ ।
इरानमा चार करोड ७० लाख सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । इन्स्टाग्राम र टेलिग्राम निकै लोकप्रिय छन् ।
आयातोल्लाह खमेनीले आइतवार एक भाषण गर्दै विरोध प्रदर्शनमा कैयौं मानिस मारिएको पुष्टि गरे । सरकारी सञ्चारमाध्यमहरूले यो हप्ता पाँचजना सुरक्षाकर्मीहरू मारिएको रिपोर्ट दिएका छन् ।
तर सरकारले हताहत भएकाहरूको कुल संख्या सार्वजनिक नगरेकाले यसको पूर्ण चित्र आउन बाँकी नै छ ।
सीएनएनबाट