
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले अब चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिकार गर्नुपर्ने बताएका छन् ।
बुधवार ब्रसेल्समा नाटोका सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीसँगको बैठकमा ‘चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको तत्कालीन र दीर्घकालीन जोखिमलाई हाम्रो साझेदारीले सम्बोधन गर्नुपर्ने’ बताए । अनि नाटो मुलुकहरूले आफूहरू र बेइजिङको सत्तारूढ दलबीच रहेका आधारभूत भिन्नता र विचारधारालाई बेवास्ता गर्न नहुने पनि बताए ।
शीतयुद्धमा नाटोले स्वतन्त्रता र लोकतन्त्रका लागि पाएको विजयको सन्दर्भ झिकेर पम्पिओले चीनविरोधी अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘शीतयुद्ध सकिएको ३० वर्षपछि हामीहरू फेरि निरंकुश सत्ताको जोखिम बेहोरिरहेका छौं र हामीले तिनलाई फेरि मिलेर सामना गर्नुपर्नेछ । रुस, चीन र इरानको मूल्य प्रणाली हाम्रोभन्दा नितान्त भिन्न छ ।’
यसै महिनाको शुरूआतमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले नाटोको मस्तिष्क मृत्यु भइसकेको बताउँदै युरोपेली साझेदारहरूलाई रक्षा गर्ने अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाए । युरोपेली संघले आफ्नै सैन्य सार्वभौमसत्ता विकसित गर्नका लागि काम गर्नुपर्ने फ्रान्सेली राष्ट्रपतिको कथन थियो ।
एजेन्सी