२३ जेठ २०८३, शनिबार
मुख्य घटना

हिजो दिनभर : मन्त्रीहरूलाई १–२ पैसाको लोभ नगर्न प्रधानमन्त्रीको निर्देशन, महरा उच्च अदालतमा

हिजो दिनभर : मन्त्रीहरूलाई १–२ पैसाको लोभ नगर्न प्रधानमन्त्रीको निर्देशन, महरा उच्च अदालतमा

नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई एक दुई पैसाको लोभ नगर्न चेतावनी दिएका छन् ।

‘कतिपय देशको भन्दा हाम्रो देशमा मन्त्रीहरूको तलब माथि छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, ‘हामीले हाम्रो देशका श्रमिकलाई हेर्नुपर्छ । एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन ।  

बिहीवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले लोभ नगर्न र इमान नगुमाउन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद बैठकपछि लोकान्तरसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीले आफूलाई काममा बिलम्ब कदापि स्वीकार्य नहुने निर्देशन दिएको बताए । 

‘जनताले गफ होइन काम र त्यसको प्रतिफल चाहेका छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै बास्कोटाले भने, ‘उपयुक्त र उचित समयमा उचित मूल्यमा काम गर्नुहोला ।’

बास्कोटाका अनुसार सरकारको कामप्रति नराम्रो हल्ला जनतामा गएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई चिरेर अघि बढ्न सबै मन्त्रीहरूलाई निर्देशन दिए ।

आफू नयाँ नेपाल निर्माणको प्रक्रियामा रहेकाले आफूलाई सबैको साथ आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएकाले देखिएको सीमा विवादलाई कूटनीतिक हिसाबले समाधान गर्न आफूले कदम चालिसकेको आश्वासन दिए ।

नवनियुक्त मन्त्री भन्छन्– काठमाडौंलाई धूलोमुक्त बनाउन धेरै मेहेनत गर्नैपर्दैन, म गर्छु !

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकालाई धूलोधूवाँमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

बिहीवार शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हाल्नेक्रममा मन्त्री नेम्वाङले काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउने बताएका हुन् । 

‘यति समयमै भन्दिनँ तर काठमाडौंलाई धूलोधूवाँमुक्त बनाउन सम्भव छ, म गरेर देखाउँछु,’ उनले भने ।

निर्माणाधीन सडक योजना पूरा गर्ने प्रतिबद्धता जनाएका मन्त्री नेम्वाङले पुराना राम्रा कामहरूलाई निरन्तरता दिने पनि बताए ।

सोही कार्यक्रममा निवर्तमान मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रूपमा सिंहदरबारबाट बाहिरिन लागेको दाबी गरेका थिए ।

महासेठले भने– ‘म सफल मन्त्री भएर बाहिरिँदैछु, प्रधानमन्त्रीले मलाई विश्वास गरेर मन्त्री बनाउनुभएको थियो र अहिले पनि उहाँकै निर्णयलाई सर्मथन गरेको छु ।’

महासेठले मन्त्रालयमा आएपछि आफूले २ सयभन्दा बढी पक्की पुल र १ हजार किलोमिटरभन्दा माथि कालोपत्रे सडक निर्माण गरेर नयाँ रेकर्ड कायम गरेको बताए ।

‘नयाँ मन्त्रीज्यूले योभन्दा पनि धेरै काम गरेर अझ नयाँ रेकर्ड कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र मेरो पनि सहयोग रहनेछ,' उनले भने ।

सरकारी गाडी छाडेर सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट ट्याक्सीम चढेर घर फर्किएका छन् ।

मन्त्रीका रुपमा पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी भएपछि घर फर्किने क्रममा विष्ट ट्याक्सी चढेका हुन् ।

कार्यक्रममा बोल्दै विष्टले पदमा रहँदासम्म श्रमिक र बेरोजगारका लागि इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।

मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेपनि त्यसको अनुभव अहिले गरेको बताएका हुन् ।

'स्वाभिमानका साथ जनतालाई केन्द्रभावमा राखेर सुधारका पहल उठाइरहेका बेला जनताको पक्षमा काम गर्ने कुरा जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गरेकै थिएँ, अहिले अझ उचाइमा त्यसको अनुभव पनि गरें,' विष्टले भने ।

आफू मन्त्री नरहेपनि देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने उनको जिकिर छ ।

'जिन्दगी जनताको हातमा । जतिदिन रहन्छु, सामाजिक काममा रहन्छु, पार्टीको इमान्दार कार्यकर्ताको हिसाबले भूमिका निर्वाह गर्छु,' विष्टले थपे ।

जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा रहन पाउनुपर्ने माग

संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै महराका तर्फबाट निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

'थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भनी मुलुकी कार्यविधिसंहिताको दफा ७३ बमोजिम उहाँ (कृष्णबहादुर महरा)को निवेदन प्राप्त भएको छ,' रजिस्ट्रार दाहालले लोकान्तरसँग भने ।

जिल्ला अदालतको आदेशअनुसार महरा हाल डिल्लीबजार कारागारमा थुनामा छन् ।

सर्वोच्चको फैसला – एनसेलले २१ अर्ब १० करोड मात्र तिर्न बाँकी

एनसेलको शेयर स्वामित्व खरिद/बिक्रीवापतको पूँजीगत लाभकर करीब २१ अर्ब १० करोड रुपैयाँ मात्र तिर्न बाँकी रहेको फैसला सर्वोच्च अदालतबाट भएको छ ।

सर्वोच्चको वृहत् पूर्ण इजलासले गत भदौ ९ गते सुनाएको फैसलाको पूर्णपाठ बिहीवार सार्वजनिक भएको हो ।

एनसेलले तिर्नुपर्ने कूल पूँजीगत लाभकरमा यसअघि तिरिसकेको रकम घटाएर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्