मेरो नियुक्तिमा विवाद हुनसक्छ भन्ने मलाई पूर्वाभास थियो । स्वदेशीले पूजा गर्ने र मन्दिरको आयलाई कोषमा दाखिला गर्ने विषयले धेरैको टाउको रन्किन सक्छ । त्यसैले मलाई यो विषयको कारणले रगत पनि बग्न सक्छ कि जस्तो लागेको थियो ।

नेपाली मन्दिरमा नेपाली पुजारीको नियुक्तिको सबैतिरबाट स्वागत हुनेमा शंका थियो । सबैले गौरव महसूस गर्नेछन् कि जस्तो पनि नलागेको होइन । तर जब पहिलो दिन साढे दश बजेसम्म पनि भट्ट मन्दिर प्रवेश गरेनन् त्यसपछि बल्ल मलाई लाग्यो केही जटिल समस्या खडा हुँदैछ ।
पूजा गर्न थालेपछि केही पत्रिका जान्थे । पत्रिकाबाहेक न मैले रेडियो सुनें, न टेलिभिजन हेरें । बेलुकातिर यसो पढ्दा पत्रिकाहरूको कोण अलि जायज लागेन मलाई । नेपाली आमसञ्चार जगत् यस विषयमा धेरै प्रस्ट छैन जस्तो लाग्यो ।
सञ्चार क्षेत्रमा विदेशी लगानीको प्रत्यक्ष प्रभाव पर्दा आइपर्ने भयावह समस्याहरूको निराकरण विषयमा बेखबर हुनु राम्रो कुरा होइन । लगानीको ख्याल नगर्दा जहाँ राष्ट्रको प्रतिष्ठाको विषय आइपर्छ त्यहाँ सधैं देश हार्ने गर्छ ।
भट्टलाई हटाएर म यहाँ प्रवेश गरेको होइन । भट्टले राजीनामा दिएर ठाउँ खाली भएपछि मात्र म आवश्यक प्रक्रिया पूरा गरेर श्रीपशुपतिनाथको पुजारी बन्न आएको हुँ ।
मूल भट्टले राजीनामा दिएर मन्दिर प्रवेश नगरेका कारण मूल भट्टको दायित्व पनि मैल नै वहन गरेको हुँ । वरीयतामा उत्तरमुखको पुजारी दोस्रो नम्बरमा पर्छ । तर म सबै नम्वरमा परें । म उत्तरमुखको पुजारीमा नियुक्त भएपनि बाहिर मूलपुजारीका रूपमा प्रचार भइरहेको थियो ।
केहीले मलाई प्रचण्डका नातेदार, अझ भतिज नै भने । केहीले माओवादीको खल्तीबाट आएको भनेर आलोचना गरिरहेका थिए । मैले गरेको अध्ययन–अनुसन्धान, तप र सामाजिक योगदान सम्बन्धी कुरामा कोही कसैले बहस चलाएनन्, केवल विरोधमात्र गरे । केहीले मलाई अप्रेसन गरेको हुनाले अयोग्य भनिरहेका थिए जब कि मैले अङ्ग्रेजी औषधि समेत कहिल्यै प्रयोग गरेको छैन ।
१८०४ सालदेखि अहिलेसम्म कहिल्यै भट्टहरूको छनोट विज्ञापनबाट भएको छैन । मूलभट्टको सिफारिसमा दरबारका बडागुरुज्यूले नाम पेश गर्ने र राजाले स्वीकृत गर्ने प्रचलन थियो । पहिलोपटक विस्तृत अन्तर्वार्ता र व्यापक बहस, संवादपछि भट्ट पुजारीको चयन भएको हो । यस विषयमा कोही बोलेनन् ।
चिन्न त मैले सबै पार्टीका नेतालाई चिनेको छु । र म ती सबैलाई बराबर देख्छु । राजनीति मेरो विषय पनि होइन । माओवादीको गोजीको मान्छे भनेर प्रचार भइरहेको सुन्दा आश्चर्य लाग्यो । कांग्रेस वा एमाले सरकारको पालामा नियुक्त भएको भए मलाई कांग्रेस वा एमाले भन्दा हुन् । यो देशको दुर्भाग्य असल नियतले असल काममा प्रवृत्त भइरहँदा पनि जसभन्दा अपजस भाग लागिरहने गर्छ ।
श्रीपशुपतिनाथ दक्षिण एसियाकै प्रसिद्ध हिन्दू धार्मिक पर्यटकीय गन्तव्य हो । करोडांै मान्छेको प्रत्यक्ष आस्थाको केन्द्र हो पाशुपत क्षेत्र । विभिन्न समस्याको निदानका लागि धार्मिक आस्था भएका मानिसहरूले श्रीपशुपतिनाथमा विशेष पूजा गर्छन् । धर्म, अर्थ, काम र मोक्षसिद्धिका लागि श्रीपशुपतिनाथमा विभिन्न पूजाको माध्ययमबाट भेटीघाटी चढाउँछन् । यहाँ ११ सयदेखि १२ लाखसम्मको विशेष पूजा हुने गरेको छ । शिवरात्रिको एकदिनमा कम्तीमा ५ करोड रुपैयाँ जम्मा हुने अनुमान छ ।

श्रीपशुपतिनाथको भेटीघाटीमा व्यापक दुरुपयोग हुने गरेको थियो । म श्रीको मन्दिरमा नियमित पूजा गरिरहेको छु । बाहिर नेपाली पुजारी नियुक्त गरिएको विरोधमा टायर बालेर, ढुंगामुढा गरेर तीर्थयात्री र भक्तजनलाई तर्साउने र अपमान गर्ने काम भइरह्यो । श्रीपशुपतिनाथको भेटी दामासाहीमा बाँडेर खाँदै आएका भट्ट–भण्डारी र तिनका दलालहरूले राजनीतिको आवरणमा प्रतिकूल परिस्थिति सृजना गरिरहेका थिए । हुलदंगा मच्चाएर सत्यलाई असत्य, प्रकाशलाई अन्धकार बनाउने कार्य तीव्र रूपमा बढिरहेको थियो ।
धनबल र बाहुबलको भरमा लोकतन्त्रलाई बढ्न नदिने प्रयत्न भइरहेको थियो र जनतामा भ्रम छरिँदै थियो धार्मिक सम्बन्ध र संस्कारको बारेमा ।
जसले हाम्रो सांस्कृतिक अस्तित्वलाई स्वीकार्दैन, हामीले पढ्ने वेदलाई मान्यता दिँदैन, त्यस्तो सम्बन्ध र संस्कारतिर हाम्रो चासो र समर्थन आवश्यक छैन ।
मन्दिरमा भट्ट पुजारीबाहेक अरू जान नमिल्ने भएको कारण मलाई पशुपति क्षेत्र विकास कोषले एउटा थुन्से दियो । त्यसमा पूजा गरेको बेलपत्र बाहिर निकाल्दा बेलपत्र फूलप्रसादमा अल्झिएर रहेको ४०,५० हजार रुपैयाँ जम्मा हुन थाल्यो । जबकि यतिबेला धार्मिक पर्यटनको समय पनि होइन । श्रीपशुपतिनाथको दान र दातव्य दामासाहीमा बाँडेर खाने चलनको अन्त्य गरेर राज्यकोषमा जम्मा गर्ने कामको शुरुवात मैले गरें । तर यो पूर्ण हुन सकेको छैन ।
श्रीपशुपतिनाथ मन्दिरको भेटीघाटीलाई दामासाही गर्दा दिनानुदिन श्रीपशुपतिनाथबाट धर्म हराइरहेको अनुभूति हुन्थ्यो । धर्मका लागि पवित्रता, निष्कपटता, पवित्र आचार–व्यवहार, नियम र निष्ठा आदि चाहिन्छ । कुनै भट्टले यति दक्षिणा नदिएसम्म पूजा नै गर्दिनँ भन्छ भने त्यहाँ कसरी धर्म रहन्छ ? भट्टहरूको व्यवहारले श्रीपशुपतिनाथमा धर्म जीर्ण बनिरह्यो ।
मानिसहरू आज मेरो जन्मदिवस हो, मेरो जीवन राम्रो होस् भनी पूजा गर्न आउँछन् । भट्टहरू भने धर्मलाई पैसामा जोड्ने काम गर्छन् । श्रीपशुपतिनाथका भट्टहरूले दर्शनार्थीहरूको जन्मदिनमा अपशकुन थप्ने र नेपालीहरूको साइत बिगारिरहेको पाएँ । अस्पतालमा बिरामी छ, निको भएन । गरीब र असहायहरूले भगवान् कहाँ छौ भनी पुकार्छन् । हे भगवान् ! भनेर मान्छे मन्दिर जान्छ । अनि मन्दिरमा सबै कुरा पैसामा चल्छ । तीर्थयात्री र भक्तजनलाई तर्साउने र अपमान गर्ने काम ना भगवानलाई स्तुति गर्न पनि भट्टको अनुमति लिनुपर्ने यस्तो अवस्था भइरहेको छ श्रीपशुपतिनाथमा ।
भण्डारीहरू झन् मालामाल छन् । भट्टको भन्दापनि बढी सुविधा उनीहरू लिइरहेका छन् । संस्कृतमा एउटा उखान छ, “उँटको बिहेमा गधाको बाजा” । गधा भन्छ, ‘आहा, तपार्इंको कस्तो राम्रो रूप ।’ उँटले गधालाई भन्छ, ‘वाह तपाईंको कस्तो राम्रो स्वर ।’ उँटको रूप र गधाको स्वर कति राम्रो हुन्छ आफैं पशुपतिनाथमा भट्ट र भण्डारीको सम्बन्ध त्यस्तै छ किनभने उनीहरूको स्वार्थ एउटै छ । जसरी हुन्छ श्रीपशुपतिनाथमा ब्रह्मलुट मच्चाउने । पर्यावरण र धर्म नाश गर्ने । धर्मको नाममा विदेशी हस्तक्षेप बढाउने ।
(पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री भएको समयमा पहिलोपटक भारतीयको सट्टा नेपाली नागरिक विष्णु दहाललाई पशुपतिनाथको मन्दिरमा पुजारी नियुक्त गरिएको थियो । दहालको नियुक्तिलाई लिएर तिव्र विवाद भएपछि उनी पुजारीबाट हटेका थिए । यसै प्रसंगमा दहालले ‘पशुपतिमा सात दिन’ नामक आत्मवृत्तान्त प्रकाशन गरेका छन् । जसलाई मण्डप बुक्सले बजारमा ल्याएको छ ।)