
संघीय राजधानी काठमाडौंकै एक सामुदायिक विद्यालयमा ९ कक्षामा बढ्ने कमला (नाम परिर्वतन) लाई २०७३ सालमा घरायसी तनावले सतायो ।
घरको आर्थिक अवस्था कमजोर रहेका बेला सौतेनी आमाको दिनदिनकै कचकचले उनलाई तनाव हुन्थ्यो । आफ्नी आमा अर्कैसँग बिहे गरेर गएपछि बुवाले सौतेनी आमा भित्र्याए, कमलाका दुःख बढे ।
सौतेनी आमाको दिनदिनकै कचकचबाट बच्न कमलाले जागिर गर्ने सोच बनाइन् । जागिर गर्दै पैसा कमाएर पढाइको खर्च जुटाउने उनको योजना थियो ।
कमलाको समस्याबारे नजिकै भाडामा बस्ने धनुषाको बेंगाडारबर–६ की सीता लामा भनिने सिम्रन तामाङलाई राम्रोसँग थाहा थियो । उनी कमलाको भाउजु पर्छिन् ।
कमलाको समस्यामा सिम्रनले चलखेल गर्न थालिन् । सिम्रनले कमलालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजार भारतीय रुपैयाँमा काम लगाइदिने भन्दै प्रलोभनमा पारिन् । कमलाले सिम्रनले भनेको मानिन् ।
सिम्रनले कमलालाई भारतको नयाँदिल्लीस्थित रानीबागमा पुर्याइन् र २ वटा फ्ल्याटमा वेश्यालय सञ्चालन गर्ने जोस्ना भनिने जुनाकुमारी खड्काको जिम्मा लगाइन् ।
जब कमलाले आफू वेश्यालयमा बेचिएको थाहा पाइन्, तब ढिला भइसकेको थियो । उनलाई जोस्नाले जबरजस्ती यौन कार्यमा लगाउन थालिन् । जोस्नाले कमलालाई १५ हजार भारतीय रुपैयाँमा किनेको बताइन् । यसरी कमलालाई ३ वर्षसम्म यौन कार्यमा लगाइयो ।
कमलाले आफ्ना बुवाको नम्बर पत्ता लगाएर आफू वेश्वालयमा बेचिएको जानकारी दिइन् । कमलाका बुवाले सामाजिक सञ्जाल फेसबूकबाट मानव बेचबिखन अनुसन्धान ब्यूरो बबहरमलमा उजुरी गरे ।
फेसबूकबाट घटनाको जानकारी गराएसँगै मानव बेचबिखन ब्यूरोले प्रहरी निरीक्षक (इन्सपेक्टर) को टोलीलाई खटाएर कमलाको उद्धार गरिएको मानव बेचबिखन ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले बताए ।
‘मंसिर ८ गते हाम्रो फेसबूकमा एउटा म्यासेज आयो । त्यसपछि हामीले घटनालाई बुझ्नाको लागि पीडित महिला बुवालाई सम्पर्क गरी अनुन्धानमा खटियौं,’ उनले भने ।
उजुरीपछि मानव बेचबिखन टोली तत्काल सक्रिय भयो । भारतको दिल्ली र पुनेमा फ्ल्याट लिएर यौन व्यवसाय चलाइरहेकी धनुषा बेलाडावर–६ की जोस्ना भनिने जुनाकुमारी खड्का र पर्सा वीरगञ्जकी सीता लामा भनिने सिम्रन तामाङलाई पक्राउ गरिएको थपलियाले बताए । ‘हामीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं,’ उनले थपे, ‘पीडित बालिकालाई उद्धार गरी पुनर्स्थापना केन्द्रमा राखेका छौं ।’
पक्राउ परेको महिलालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कारवाही हुने एसपी थपलियाले बताए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनको दफा १५ मा ‘मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसूरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ ।