
कालापानी र लिपुलेकको सन्दर्भमा भारतलाई 'प्रोटेस्ट नोट' पठाइएको छ - महासचिव पौडेल
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले लिपुलेक र कालापानीका सन्दर्भमा भारतलाई नेपालका तर्फबाट प्रोटेस्ट नोट पठाइसकिएको जानकारी दिएका छन् ।
'भारत सरकारलाई हाम्रो तर्फबाट ‘प्रोटेस्ट नोट’ पठाइएको छ । त्यहाँ तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको हो भन्ने प्रष्ट पारिएको छ । सरकारले वार्ता र संवादमार्फत नेपालको भूमि फिर्ता ल्याउँछ,' उनले भने ।
केही राजनीतिक दलले अनावश्यक रुपमा राष्ट्रियता र सार्वभौमसत्ताको विषय उचालेको भन्दै महासचिव पौडेलले सरकारले उत्तेजनामा नआई जिम्मेवार भएर समस्याको समाधान गर्ने विश्वास दिलाए ।
रासससँग कुरा गर्दै पौडेलले सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो । विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पु¥याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।
राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए ।
लक्ष्यको शतप्रतिशत नजिक पुग्नेगरी काम गर्न गृहमन्त्री बादलको निर्देशन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
बिहीवार गृहमन्त्रालयमा आ.व.२०७६/७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पु¥याउन कोशिस गर्नुहोस् । त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ । कारणवश पूरा हुन नसकेपनि लक्ष्यको नजिक अवश्य पुगिन्छ ।’
समग्रमा चालू आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्र्दै लैजान निर्देशन दिए ।
शान्तिबिना विकास सम्भव नभएको बताउँदै गृहमन्त्री थापाले सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको टिप्पणी गरे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए ।
महिला भलिबल : भारतसँग नेपाल सोझो सेटमा पराजित
१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपाली टोली भारतसामु निरीह देखिएको छ ।
बिहीवार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा नेपाली महिला भलिबल टोली भारतसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा टक्कर दिएपनि नेपाली टोलीले हार जोगाउन सकेन । पहिलो सेट २६-२४ मा सकिएको थियो ।
त्यस्तै दोस्रो सेटमा नेपाल फराकिलो अन्तरले पराजित भयो । दोस्रो सेटमा नेपाल २५-१२ ले पराजित भयो ।
तेस्रो सेट नेपालले २५-१६ ले गुमायो ।
बुधवार भएको पहिलो खेलमा नेपाली टोलीले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो ।
अर्थमन्त्रीको प्रतिबद्धता– साना उद्यमीलाई पूँजी अभाव हुँदैन
अर्थमन्त्री डा. युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन् ।
नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवर्द्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरीद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने विचार व्यक्त गरे ।
चिकित्सकले दिए जानकारी– प्रधानमन्त्री सामान्य हिँडडुल गर्न सक्ने, स्लाइन झिकियो
प्रधानमन्त्री केपी ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।
मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेको २ दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार आएको उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीले बताएका छन् ।
'सबै ठीकठाक छ, इम्प्रुभ भइरहेको छ खाना खान शुरू गर्नुभएको छ, 'बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग डाक्टर सायमीले भने, 'हिँड्न शुरू गर्नुभएको छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ ।'
डाक्टर सायमीले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेपनि आईसीयूमै राखेर आगन्तुकलाई भेट्न नदिइएको बताए ।
प्रधानमन्त्री ओलीको उपचारको भावी रणनीति तय गर्न बिहीवार नै चिकित्सक र विशेषज्ञहरूको छलफल पनि भएको थियो ।
नियमित डायलासिसको प्रक्रियामा रहेका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापश्चात दुईपटक डायलासिस गरिसकिएको छ ।
रुसी राष्ट्रपति पुटिन नेपाल आउनेमा सरकार आशावादी
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण हुनेमा सरकार आशावादी रहेको बताएका छन् ।
बिहीवार आफ्नै मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले विश्वका ठूला देशको नेपालमा ध्यानाकर्षण गर्न सरकारले पहल गरिरहेको बताए ।
'यसैक्रममा हाम्रा परराष्ट्रमन्त्रीले रूसी राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ,' उनले भने, 'उहाँको नेपाल भ्रमण हुनेमा हामी आशावादी छौं ।'
प्रधानमन्त्रीको उपचार रणनीति तय गर्न डाक्टरहरूको बैठक, टिचिङमा सार्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारबारे थप निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको बैठक बसेको छ ।
मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको भएपनि अब थप उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको एक चिकित्सकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रियापछि पनि मिर्गौलाको नियमित डायलासिस गरिरहनुपर्ने हुन्छ ।
प्रधानमन्त्री ओली उपचारार्थ रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस मेसिन छैन ।
बुधवार साँझ प्रधानमन्त्री ओलीलाई डायलासिस गर्न नजिकै रहेको शिक्षण अस्पतालबाट मेसिन लगिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई एकदुई दिनमा टिचिङ लगेर राख्ने तयारी भइरहेको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनको नामथर खुल्न सकेको छैन ।
साग खेलकुदमा रंगशालाभित्रै मेडिकल सेन्टर
आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद(साग) लाई लक्षित गरेर पोखरा रंगशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ ।
यही मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोटपटक लागेको खण्डमा आकस्मिक रुपमा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय कभर्डहलभित्र चिकित्सकसहितको मेडिकल टोली सेन्टरमा उपलब्ध रहनेछ ।
साग स्वास्थ्य उपसमितिका संयोजक डा पदमबहादुर खड्काले दुई चिकित्सक, फिजियोथेराष्टि तथा नर्ससहितको स्वास्थ्य टोली बिहान ७ देखि साँझ ७ बजेसम्म दुई चरणमा १२ घण्टा उपलब्ध हुने बताए ।
सागका आठ खेलमध्ये पाँच खेल सञ्चालन हुने रंगशालाका विभिन्न पाँच स्थानमा प्राथमिक उपचार सामग्रीसहितको प्यारामेडिसिनको टोली रहने बताइन्छ ।
मेडिकल सेन्टरमा बाहेक खेलस्थल, आवासस्थलमा उपलब्ध हुनेगरी १५ चिकित्सक, १५ फिजियोथेरापिष्ट तथा ३० पारामेडिक्सलाई परिचालन गरिएको उनले जानकारी दिए ।
“साग देशको प्रतिष्ठाको विषय हो, खासगरी कुनै पनि स्वास्थ्य समस्या आइपरेमा प्रभावकारी समाधानका लागि आवश्यक प्रबन्ध गरिएको छ”, खड्काले भने ।
उपनिर्वाचनका दिन अत्यावश्यकबाहेक सवारी सञ्चालनमा रोक
जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मंसिर१४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ ।
मंसिर १३ गते राति १२ः०० बजेदेखि सो बन्देज शुरू भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । अति आवश्यक सेवामा एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवाका साथै चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई रोक लगाइएको छैन् ।
यसका साथै, कास्की क्षेत्र नं–२ भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा याम्दी पुल, दक्षिण–पश्चिममा कालीमाटी खोलामा गाडी रोकेर राखिने सूचनामार्फत जानकारी गराइएको छ ।
त्यस्ता गाडीलाई तीन÷तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने र बीचमा कुनै यात्रुलाई चढाउन तथा ओराल्न नपाउने गरी व्यवस्था मिलाइएको छ ।
मन्त्रिपरिषद् बैठकले गर्यो जम्मा २ निर्णय, यी हुन् निर्णयहरू
यस साताको मन्त्रिपरिषद् बैठकले जम्मा दुईवटा मात्र निर्णय गरेको जानकारी सरकारका प्रवक्ताले दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
'छोटो बैठक बस्यो र सम्माननीय प्रधानमन्त्रीज्यूले ननियुक्त मन्त्रीहरू समेत गत वर्ष र चालू आर्थिक वर्षको पहिलो ४ महिनाको समीक्षा र आवश्यक निर्देशन दिने काम भएको जानकारी यहाँहरूले पाइनै सक्नुभएको छ,' प्रवक्ता बाँस्कोटाले भने ।'
बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको जानकारी बाँस्कोटाले दिए ।
यी हुन्, २ निर्णय :
–नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सह–सचिवस्तरीय बैठकका लागि उद्योग मन्त्रालयका सह–सचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन (वार्तासमेत सम्पन्न भइसकेको) ।
–भूमिसम्बन्धी एकीकृत विधेयक तयार गर्न सैद्धान्तिक सहमति ।
छाडा कर्मचारीलाई लगाम लगाउँदैनन् स्थानीय तहका जनप्रतिनिधि
राष्ट्रिय सतर्कता केन्द्रले मंसिर १ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका कार्यालयमा अनुगमन गर्दा १९ जना कर्मचारीले समयको पालना नगरेको पाइयो ।
केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार १ जना कर्मचारीले कार्यालय पोशाक समेत लगाएका थिएनन् ।
काठमाडौंकै गोकर्णेश्वर नगरपालिकामा ९ जना कर्मचारी कार्यालय समयमै हाजिर भएनन् भने ५ जना कर्मचारी कार्यालय पोशाक नलगाई कार्यालय आए । केन्द्रका अनुसार चन्द्रागिरी नगरपालिकामा ३ जना कर्मचारी कार्यालय समयमै हाजिर भएनन् भने ५ जना कर्मचारी कार्यालय पोशाक नै नलगाई हाजिर भए ।
यी केही प्रतिनिधि घटना हुन् । स्थानीय तहका कर्मचारीलाई अनुशासित र मर्यादित बनाउन जनप्रतिनिधि नै सक्रिय हुनुपर्नेमा कर्मचारी कर्मचारीलाई छाडा छाडिएको पाइएको छ । स्थानीय तहको राजनीतिक नेतृत्व गर्ने जनप्रतिनिधिले प्रशासनिक नेतृत्व गर्ने कर्मचारीमाथि लगाम लगाउन सकेका छैनन् ।
बिहेको दाइजो रकमबाट बालबालिकालाई न्यानो कपडा वितरण
विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा १ व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाएका हुन् ।
बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा प्रदान गरे ।
गणतन्त्रको पक्षमा लागेको भन्दै अभियानबाट निकालिए ज्ञानबहादुर शाही
विगत केही समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेका ज्ञानबहादुर शाहीलाई उनी आवद्ध रहेको 'नेपालका लागि नेपाली' अभियानबाट निष्काशित गरिएको छ ।
भ्रष्टाचारविरुद्ध चर्को स्वरमा अभिव्यक्ति दिने शाही गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लागेको भन्दै उनी सम्मिलित अभियानको केन्द्रीय समितिको बैठकले उनलाई निष्काशन गरेको हो ।
‘नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०६७-८-११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको कुनै संलग्नता नरहने जानकारी गराइन्छ,' बैठकले आफ्नो निर्णयमा भनेको छ ।
मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको भन्दै आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।
'बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु,' ओलीले ट्वीटरमा लेखेका छन्, 'यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'
काठमाडौंबाट बर्दिया जाँदै गरेकाे बस नेपालगञ्जमा दुर्घटना, ८ जना घाइते
काठमाडौंबाट बर्दिया जाँदै गरेको यात्रुबाहक बस नेपालगञ्जमा दुर्घटना भएको छ ।
बस दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले लोकान्तरलाई जनाएको छ ।
ना६ख, ६२३१ नम्बरको यात्रुबाहक बस बिहीवार बिहान ९ बजेको सयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकमा गुडिरहेको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सो मोटरसाइकल जोगाउन खोज्दा बस सडकमा पल्टिएको हो ।
बस सडकमा बसमा कति जना सवार भन्नेबारे नखुलिसकेको भन्दै अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।