
सप्तरीमा बालिका अपहरणको प्रयास गर्ने १ भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन् ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली–१८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ ।
सोही आरोपमा पक्राउ परेका कुनौली–४ बैरियाघाटका १६ वर्षीय बालक (अनिल भनिने दुर्गानन्द झा) लाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाउने आदेश दिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५ दादरबैरियाकी आठ वर्षीया आँचल शर्मालाई गत कात्तिक १४ गते आरोपितहरूले अपहरण प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । पीडित बालिका मृत्यु भएका हजुरबुवाको १३ दिने श्राद्धमा मामाघर आएकी थिइन् ।
मामाघरका परिवारका सदस्यहरू श्रद्धापूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला बालिकाकी हजुरआमा ५५ वर्षीया सावित्रीदेवी शर्माले होहल्ला गरेपछि जुटेका स्थानीयले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।
आरोपितको साथबाट प्लास्टिकको ३ बोरासमेत फेला परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए । चिया र बिस्कुट खान दिने भनेकाले उनीहरूसँग गएको बालिकाले जनाएकी छन् ।
बालिकाका मामा ३९ वर्षीय अमित शर्माले कात्तिक १५ गते आरोपितहरुविरुद्ध दिएको अपहरण तथा शरीर बन्धकको उजुरीमाथि जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरी कारवाही थालेको थियो ।