सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताएका छन् ।
‘हामी कुनै देशको समर्थक नबनौं, नेपाललाई केन्द्रमा राखौं । मुलुकको स्वाधीनता र राष्ट्रियताको जगेर्ना नेपालीको प्राथमिकता हुनुपर्छ,’ उनले भने ।
नेपाल–चीन मिडिया फोरमले गरेको ‘नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यशालामा उनले नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिए । सन्तुलित सम्बन्धलाई नेपालको विकासका निम्ति उपयोग गर्नुपर्ने उनको कथन थियो ।
चिनियाँ राष्ट्रपति शी चिनफिङको हालै सम्पन्न भ्रमणपछि द्विदेशीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै उनले नेपाललाई भू–जडित देश बनाउन सघाउने राष्ट्रपति शीको घोषणाले सारा नेपाली उत्साहित भएका र पारस्परिक सम्बन्ध सुदृढ भएको विचार व्यक्त गरे ।
एक चीन नीतिप्रति नेपाल सधैं अडिग रहेको र जुनसुकै सरकारले त्यसलाई निरन्तरता दिने बताउँदै चीनको नेपालप्रतिको नीति पनि अपरिवर्तनीय नै रहेको अनुभव सुनाए ।
राष्ट्रिय एकतालाई सुदृढ, भौगोलिक अखण्डताको रक्षा, जनताको सार्वभौमसत्ता र स्वाधीनताको संरक्षणजस्ता राष्ट्रिय महत्त्वका विषयमा सञ्चार क्षेत्रले जनमतलाई प्रभावित पार्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै विवेकशील भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उत्तेजना र आवेग त्यागेर शालिन ढंगले समस्याको निरुपण खोज्नुपर्ने बताउँदै उनले भने, ‘कालापानीबारे हामीले गम्भीररुपमा भारतको ध्यानाकर्षण गराएका छौं, दुवै देशमा स्थिर सरकार रहेकाले समाधान खोज्न पनि सहज हुनेछ ।’
एक फरक प्रसंगमा उनले चीन, भारत र नेपालबीचको साझेदारी ३ वटै मुलुकका निम्ति लाभप्रद हुने विचार व्यक्त गर्दै आफू ‘टु प्लस वान’को पक्षमा नरहेको स्पष्ट गरे । उनले रेल, सडक र हवाईमार्गबाट चीनलगायत देशसँग सम्पर्क सञ्जाल स्थापना मात्र नभई शक्तिशाली एवं प्रभावकारी सञ्चार सम्पर्कका माध्यमबाट पारस्परिक लाभ र राष्ट्र–राष्ट्रबीचको सरकारी र जनस्तरको सम्बन्धलाई बलियो बनाउने बताए ।
परिवर्तन र प्रगतिका निम्ति जनमत सिर्जना गर्ने सञ्चार क्षेत्रको ठूलो महत्त्व रहेको बताउँदै उनले सूचना तथा सञ्चार प्रविधिको विकासबाट समृद्धिको यात्रामा सजिलै अघि बढ्न सकिने बताए ।
मञ्चका अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा भएको कार्यशाला उद्घाटन सत्रमा पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले चीनले हासिल गरेको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणले २ देशको सम्बन्ध रणनीतिक साझेदारीमा प्रवेश गरेको तथा नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताए । चिनियाँ दूतावासका सञ्चार अधिकृत वाङ जिलोङले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए ।