२६ असार २०८३, शुक्रबार

कारागारलाई उत्पादनस्थल बनाइन्छ : मन्त्री जम्कट्टेल

मंसिर १३, २०७६
कारागारलाई उत्पादनस्थल बनाइन्छ : मन्त्री जम्कट्टेल

प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सरकारले कारागारलाई सुधार केन्द्र र उत्पादनस्थलका रूपमा अगाडि बढाउने बताएका छन् ।

रासससँग कुरा गर्दै उनले कैदीबन्दीको खेर गइरहेको उनुत्पादक समयको सदुपयोग गर्न तथा उनीहरूको सीप र दक्षता विकास गराई आर्थिक आयआर्जनमा लगाउन एवं कैदीबन्दीमा सकारात्मक सोचको विकास गराउन यस्तो कार्यक्रम अघि सारिएको जानकारी दिए ।

मन्त्री जम्कट्टेलले हाल धादिङ, मकवानपुर र चितवनका करीब २ हजार २०० कैदीबन्दीलाई लक्षित गरेर बाँसका फर्निचर, गलैंचा, ढाकाका कपडा लगायतका विभिन्न साम्रग्री उत्पादन गर्न तालीम आयोजना गर्ने योजना रहेको बताए ।

बन्दीको रुचि र चाहना हेरेर तथा बुझेर तालिम दिइने र आवश्यकताअनुसार उद्योग दर्ता गरेरै उत्पादन वृद्धिका अन्य योजना ल्याइने उनको भनाइ छ । 

कारागारका कैदी, बन्दीलाई तालिम दिने र स्वरोजगार बनाई जेलमा थुनिएर बसेको ठूलो जनशक्तिलाई उत्पादनसँग जोड्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । उनका अनुसार हाल मकवानपुरको भीमफेदीमा १ हजार १००, चितवनमा ७८६ र धादिङमा ३११ कैदीबन्दी रहेका छन् । 

पहिलो चरणमा ३ जिल्लामा कार्यक्रम गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा कार्यक्रम विस्तार गरिने मन्त्री जम्कट्टेलले जानकारी दिए । तालिमपछि सामग्री उत्पादनका लागि आवश्यक उपकरणसमेत दिइने र उत्पादन शुरू भएपछि त्यसको बजारीकरणका लागि समेत सरकारले सहयोग गर्ने मन्त्री जम्कट्टेलको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्