
प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको आत्मविश्वास बलियो छ। ‘फुल्ली कन्फिडेन्ट हुनुहुन्छ। उपचारका क्रममा निको हुनका लागि कन्फिडेन्टले शतप्रतिशत त होइन, ८०–९० प्रतिशत सहयोग गर्छ। कत्ति पनि आत्तिनुभएको छैन। यति आत्मविश्वास भएको व्यक्ति देखेको छैन’, सायमीले भने।
निजी चिकित्सक डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको शारीरिक र बायोकेमिकल मापदण्डमा सुधार भइरहेको छ। रक्तचाप, नाडीको धडकन (पल्स), श्वासप्रश्वास राम्रो छ। रगत र पिसाबमा गरिने जाँच पनि अपेक्षाअनुरुप सुधार देखिएको छ।
डा. दिव्यासिंह शाह भन्छिन्, ‘पाचनक्रिया बिस्तारै सामान्य अवस्थामा फर्कंदै छ। बिस्तारै हिँडाउन थालिएको छ। ठोस खाद्य पदार्थ मुखबाट दिन थालिएको छ। आहार पचाउन थाल्नुभएको छ।’
मुख्य समस्या एपेन्डिसाइटिस भएर पेटमा फैलिएको संक्रमण थियो। त्यसको उपचार भएर नियन्त्रणमा आइसकेको डा. शाहले जानकारी दिइन्। उनले भनिन्, ‘पेट चिरेपछि घाउ त भइहाल्छ। घाउ निको हुन समय लाग्छ होला। त्यसपछि सामान्य अवस्थामा फर्कनुहुन्छ।’
प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख भएपछि सघन उपचार कक्षमा बसिरहँदा दिक्क लाग्न सक्ने अवस्था देखेर पत्नी राधिकाले चिकित्सकसँग परामर्श गरेकी थिइन्। ‘किताब पढेर सुनाउने वा सानो स्वरमा म्युजिक सुनाउन सकिने सल्लाह दिएका छौं’, डा. सायमीले भने।
एक सातापछि डिस्चार्ज
उपचार टिमका संयोजक डा. सायमीका अनुसार सबै कुरा सामान्य हुँदै गएमा एक साताभित्र डिस्चार्ज गर्न सकिने बताए। उनले भने, ‘घाउ बिस्तारै निको हुन थालेको छ। सबै चिज नियन्त्रणमा रह्यो भने अर्को सातासम्म डिस्चार्ज गर्न सकिन्छ।’
प्रत्यारोपण धकेलिन सक्ने
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित छ। मिर्गौला प्रत्यारोपणका लागि दुईजना नातेदार तयारी अवस्थामा छन्।
आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले प्रत्यारोपणको समय धकेलिएको हो। निजी चिकित्सक डा. शाह भन्छिन्, ‘सबैकुरा सोचे जस्तो भयो र एपेन्डिक्सको घाउ पनि छिटो निको हुँदै गएको अवस्थामा शल्यक्रियाकै कारण प्रत्यारोपण पछाडि सर्दैन। तैपनि अलि पछाडि जान सक्छ।’
मिर्गौला बिग्रेको अवस्थामा सातामा दुईतीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको एक महिना अवधिमा पाँच पटक मात्र डायलासिस गरिएको छ।
नेपालमा पनि मिर्गौला प्रत्यारोपण गर्न भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमै ६ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको छ। ‘प्रत्यारोपणका लागि हामी सक्षम छौं। कहाँ गर्ने भन्ने टुंगो लागेको छैन’, डा. शाहले भनिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।