
धनगढी उपमहानगरपालिकाले नगर स्वास्थ्य केन्द्र भवनको लागि खनेको जगमै बसेर मुक्तकमैयाले धर्ना थालेका छन् ।
बिना विकल्प आफुहरूले भोगचलन गर्दै आएको जग्गा जबरजस्ती डोजर प्रयोग गरी खाली गराई भवन बनाउन थालेको भन्दै त्यहाँस्थित राधाकृष्ण मुक्तकमैया शिविरका मुक्तकमैया परिवारले शनिबार बिहानैदेखि धर्ना थालेका हुन् ।
शिविरकी मुक्तकमैया बजारी देवी चौधरीले आफुहरूको बासोबासको ग्यारेन्टी नगरेसम्म भवन निर्माणको कार्य अगाडी बढ्न नदिने चेतावनी दिइन् । उनले भनिन्, ‘यो जग्गा हामीले ०६१ देखि भोग चलन गर्दै आएका छौ । हाल आएर बिना विकल्प खाली गराइएको छ । बासोबासको ग्यारेन्टी नगरेसम्म चाहे ज्यान गए जाला निर्माणको काम बढ्न दिदैनौ ।’
उता धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष नारायण बरालले स्वास्थ्य भवन बनाउन थालेको जग्गा राधा कृष्ण मन्दिरको भएको र मन्दिर संग मागेर भवन बनाउन थालेको बताए । वडा अध्यक्ष बरालले भवन निर्माणको कार्य अगाडी बढ्न दिनुपर्ने बताउँदै केही दिनमा बासोबासको व्यवस्था मिलाइने बताए ।
तर मुक्तकमैया परिवारले पहिले बासोबासको लिखित ग्यारेन्टी नगरेसम्म निर्माण अगाडि बढ्न नदिने अडानमा रहेका छन् । दुबै पक्षको आ–आफ्नै अडान कायमै रहेपछि तनाव सिर्जना भएको छ ।
शिविरकी मुक्तकमैया सुल्फी देवी चौधरी, अनिता चौधरी र दुखनी चौधरीले भोगचलन गर्दै आएको जग्गा वडा अध्यक्ष बरालले खाली गराएका हुन् ।