
काष्ठमण्डप पुनर्निर्माणका लागि अभाव भएको आवश्यक ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने भएको छ ।
अगुप भएको काठ आगामी पुस १५ सम्ममा ल्याइने तयारी गरिएको छ । उक्त मितिसम्म काठ ल्याउन नसके पुनर्निर्माणको काम रोकिने छ ।
छानाका लागि काठको समस्या भएको र त्यसका लागि ८ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा उक्त स्थानबाट काठ ल्याउने तयारी गरिएको हो । निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्याल ढोकामा बट्टा कुद्ने काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।
त्यसैगरी अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । ‘अहिले मुख्य ४ थाम राखी बिचमा गारो लगाउने काम सकिएको छ,’ उनले भने । समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।
विक्रम संवत् २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा सो सम्पदाको पुनर्निर्माण शुरू गरिएको हो । ३ वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ ।
गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका ४ थाममध्ये ३ नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ ।
उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई ५ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । ४ वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ ।