काठमाडौं, २७ चैत– नेपाली कांग्रेसले आजबाट निर्वाचन केन्द्रीत चुनावी सभा शुरु गर्दै छ ।

प्रदेश नम्बर ७ अन्तर्गत कैलालीको अत्तरियामा कांग्रेसका शीर्ष नेताहरुले संयुक्त रुपमा चुनावी सभाको शुरुवात गर्न लागेका हुन् । योसँगै कांग्रेसले सातवटै प्रदेशमा चुनावी सभाहरुको आयोजना गर्ने छ ।
कैलालीमा आयोजना हुने साभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनका लागि ‘कांग्रेसले बनायो नेपालको लोकतान्त्रिक संविधान, स्थानीय निर्वाचनमा कांग्रेसलाई मतदान’ नारा कांग्रेसले तय गरेको छ ।
करिब महिना दिनअघि एमालेले मेची महाकाली अभियान सञ्चालन गरेको थियो । सरकारले वैशाख ३१ मा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु चुनावी सभा र अन्य गतिविधिहरुलाई तिव्रता दिइरहेका छन् ।