२२ जेठ २०८३, शुक्रबार

कृषि व्यापारमा असन्तुलन : ३ अर्ब निर्यात हुँदा साढे २७ अर्बको आयात

मंसिर १८, २०७६
कृषि व्यापारमा असन्तुलन : ३ अर्ब निर्यात हुँदा साढे २७ अर्बको आयात

पछिल्लो चार महिनामा ३ अर्ब रुपैयाँको कृषिबाली निर्यात हुँदा साढे २७ अर्बको आयात भएको छ । 

सिँचाइ, उत्पादन लागत, सरकारी नीति, बजारीकरणको अभावलगायत कारण कृषि वस्तुको व्यापारमा ठूलो असन्तुलन देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चौमासिक प्रगति विवरणअनुसार अलैंची, चिया, अदुवा, कफी र ताजा तरकारीको निर्यात भएको छ । खाने तेल, धान, आलु, मकै, प्याज, गहुँ, ताजा तरकारी, स्याउ, केरा, आँपलगायत बालीको आयात भएको छ ।

प्रगति समीक्षाअनुसार सबैभन्दा बढी खानेतेल (सोयाबिन/सनफ्वार) तेल खरिदमा ७ अर्ब ६६ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँले बढी हो । ४ महिनामा ६ अर्ब ३० करोड रुपैयाँको धान आयात भएको छ । मन्त्रालयले अघिल्लो वर्ष धान उत्पादनमा रेकर्ड कायम भएको दाबी गरेको थियो । हाल धानको उत्पादकत्वप्रति हेक्टर ३.७६ टन छ ।

चालु आवको अन्त्यसम्ममा ३.९० पुर्‍याउने मन्त्रालयको योजना छ । चालु आर्थिक वर्षमा गरिमा धानको नक्कली बीउ, फौजी किरालगायत प्रकोपले उत्पादन घट्ने आकलनसमेत गरिएको छ । यसले आयातमा थप वृद्धि हुने जानकारहरू बताउँछन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका निवर्तमान अध्यक्ष उद्धव अधिकारीका अनुसार मुख्यत सिँचाइ, अनुदान र नीतिका कारण परनिर्भर भएको भएको हो । ‘राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकभर ३८ लाख घरधुरी किसान छन् । पर्याप्त सिँचाइ छैन । सरकारी नीतिले किसानलाई गनेन,’ महासंघको संस्थापक अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘नीतिकै कारण किसान पलायन हुँदै छन् । कृषिको आयात भयावह हुँदै छ ।’ महासंघका अनुसार प्रकोपले बाली नष्ट हुँदासमेत किसानले राहत/क्षतिपूर्ति पाएका छैनन् । कृषिको अनुदान कृषकको नाममा कार्यकर्ता र कर्मचारीको हातमा परेको छ । जसले गर्दा कृषि बालीमा सुधार हुन नसकेको महासंघको दाबी छ । मन्त्रालयको प्रगति विवरणअनुसार आलु खरिद गर्न ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो वर्षको ४ महिनामा ३ अर्ब ११ करोड रुपैयाँको आलु आयात भएको थियो । आलु मुख्यत चीन र भारतबाटै आयात हुन्छ । मकै खरिदमा ३ अर्ब ८१ करोड रुपैयाँ बाहिएिको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिमा भन्दा ४५ करोड रुपैयाँले बढी हो । नेपालमा पर्याप्त उत्पादन नभएपछि ब्राजिल, अर्जेन्टिना लगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग हुन्छ । विवरणअनुसार ४ महिनाको अवधिमा १ अर्ब ५९ करोड रुपैयाँको प्याज आयात भएको छ । प्याजको आयात ११ करोड रुपैयाँले घटेको छ । प्याज मुख्यत: भारतबाट आयात हुन्छ । खडेरी र भारी वर्षाले भारतमा प्याज खेतीमा असर परेपछि माग धान्न भारतले निर्यात प्रतिबन्ध लगाएको छ । निर्यात प्रतिबन्ध हुँदा आयात केही घटेको हो । कृषिविज्ञ कृष्ण पौडेलका अनुसार उत्पादन लागत/आम्दानीका आधारमा किसानहरू खेती रोजेका छन् । तर, उत्पादन लागत बढी हुँदा किसानले खेती गर्न छाडेका छन् । यीबाहेक बजारीकरणको पनि समस्या छ । ‘किसानले मात्रै बजारीकरण गर्न सक्दैन । किसान संगठित नहुँदा मूल्य तोक्न सक्दैन,’ कृषिविज्ञ पौडेलले भने, ‘कृषिलाई उद्यम मान्ने हो भने राज्यले पुँजी, अनुदान सहुलियत वा सहज रूपमा ऋण पाउने व्यवस्था मिलाउनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्