२५ जेठ २०८३, सोमबार

सीमाबारे नरेन्द्र मोदीसँग सिधै कुरा गर्न ओलीको विशेषदूत भएर नेता नेपाल भारत जाने

मंसिर १८, २०७६
सीमाबारे नरेन्द्र मोदीसँग सिधै कुरा गर्न ओलीको विशेषदूत भएर नेता नेपाल भारत जाने

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल भएको छ ।

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालका भू-भागहरू समटेपछि उत्पन्न भएको परिस्थितिका बारेमा भारतको राजनीतिक नेतृत्वसँग सिधा छलफल गर्न नेता नेपाललाई भारत पठाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेका थिए ।

बैठकमा आफू उपस्थित नभएपनि आफ्नो प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिन प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका हुन् ।

बुधवार बिहान अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि छलफल भएको हो ।

'नेता नेपाल छिटै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत शीर्ष नेताहरूसँग छलफल गर्न प्रधानमन्त्रीको विशेष दूत बनेर जाँदै हुनुहुन्छ,' स्रोतले लोकान्तरसँग दाबी गर्यो ।

बैठकमा अध्यक्ष प्रचण्डको तत्काल चीन जाने योजनाका बारेमा पनि छलफल भएको थियो ।

'प्रधानमन्त्रीको स्वास्थ्य र बदलिँदो राजनीतिक परिस्थितिका कारण हामीले अध्यक्ष प्रचण्डलाई तत्काल चीन जाने विषयमा पुनर्विचार गर्न आग्रह गर्यौं,' बैठकमा उपस्थित एक सचिवालय सदस्यले भने ।

प्रचण्डले चीनियाँ राष्ट्रपति शी चिनफिङको निमन्त्रणामा आफू चीन जाने बताएका थिए । एक सातादेखि अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । गत आइतवार अध्यक्ष प्रचण्ड मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीसँग केही समय भेटघाट गरेका थिए ।

भेटघाटमा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन प्रचण्डलाई आग्रह गरेको स्रोतले दाबी गर्यो । प्रधानमन्त्री ओलीकै आग्रहमा बैठक बोलाइएको थियो ।

बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समिक्षात्मक रिपोर्ट केन्द्रमा पठाउन सम्बन्धित पार्टी कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित कमिटीबाट रिपोर्ट आएपछि आगामी सचिवालय बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा गर्ने निर्णय बैठकले गरेको हो ।

आगामी सचिवालय बैठक मंसिर २३ गते बिहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी गराएको बताए ।

‘अध्यक्षले उपनिर्वाचनका बारेमा पनि पार्टीलाई संक्षिप्त जानकारी गराउनुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यमा भएको सुधारप्रति प्रशन्नता व्यक्त गर्दै शीघ्र स्वास्थ्यका लागि कामनाका साथ प्रस्ताव पारित गरियो ।’

उपनिर्वाचनको औपचारिक समीक्षा आगामी सचिवालय बैठकमा गरिने समेत प्रवक्ता श्रेष्ठले बताए । ‘त्यसका लागि निर्वाचन सम्पन्न भएका सबै जिल्लाहरूले वा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका र वडा कमिटीले समीक्षा गरेर केही दिनभित्रै समीक्षाको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिने निर्णय गरियो,’ उनले भने ।

आगामी सचिवालय बैठकमा पार्टीको संगठनात्मक एकीकरणका बाँकी कामबारे छलफल र निर्णय गरिने प्रवक्ता श्रेष्ठले बताए । ‘आगामी बैठकमा निर्वाचनको औपचारिक समीक्षा गरिने छ, बैठकले पार्टीको समग्र कार्ययोजना तय गर्नेछ,’ उनले भने, ‘स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने लगायतका विषयमा आवश्यक निर्णय लिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्