१३ असार २०८३, शनिबार

हिजो दिनभर : नेपाल २७ स्वर्णसहित साग खेलकुदको शीर्षस्थानमा, कार्यकारीको जिम्मा पाएपछि प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालय बैठक

मंसिर १९, २०७६
हिजो दिनभर : नेपाल २७ स्वर्णसहित साग खेलकुदको शीर्षस्थानमा, कार्यकारीको जिम्मा पाएपछि प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालय बैठक

राजनीतिक आन्दोलन पूरा भइसक्यो, अब समृद्ध मुलुक बनाऔँ :  पूर्वप्रम भट्टराई

पूर्वप्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताएका छन्।

तनहुँको बन्दीपुरमा बुधबार पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा उनले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए। विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो । 

नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले बताए। उनले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए।


अर्थ मन्त्रीसहित १८ जनाको समयावधी सकिँदै ! राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिउ। उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। 

रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, 'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ।' राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ । 

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ। उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए। फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन्।

विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयोे : उपप्रधानमन्त्री पोखरेल
नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताएका छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा बुधवार आयोजित आत्मानन्द लिङ्देनको ६६ औं जन्मोत्सवमा उनले देश पूर्णरूपमा संघीयतामा अगाडि बढेको बताए ।

स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दाबी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताए । ‘तर ३ तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ,’ उनले भने ।


समायोजनमा देखिएको समस्या समाधान गरिन्छ : मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाइने बताएका छन् ।

पश्चिम नवलपरासीको विभिन्न स्थानमा बुधवार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकता अनुसार संशोधन गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर २ वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए

६२ केजी तौल समूहको तेक्वान्दोमा संगीताले दिलाइन् नेपाललाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेक्वान्दोमा नेपालका लागि संगीता बस्यालले स्वर्ण दिलाएकी छन् ।

बुधबार महिला ६२ केजी तौल समूहमा संगीताले स्वर्ण पदक जितेकी हुन् ।

भारतकी गगनजोत जिललाई १९-८ ले हराउँदै संगीताले स्वर्ण जितेकी हुन् ।

जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई मन्त्री बस्नेतको निर्देशन
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बुधवार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए ।

निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै आउने भन्दै उनले तीव्रतामा काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । ‘काम गराइको पुरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन,’ मन्त्री बस्नेतले भने, ‘निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पुरानै आउँछ ।’

राज्यमन्त्री मानन्धरको दाबी– एक महिनाभित्र काठमाडौं धूलोमुक्त !

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकालाई एक महिनाभित्रै धूलोमुक्त बनाउने दाबी गरेका छन् ।

बालाजु बाइसधारामा स्थानीयले गरेको सम्मान ग्रहण गर्दै त्यस क्षेत्र (काठमाडौं– ७) का सांसद समेत रहेका राज्यमन्त्री मानन्धरले काठमाडौंलाई धूलोमुक्त बनाइछाड्ने दाबी गरेका हुन् ।

खानेपानी, सडक विभाग, विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमलगायतका नियकासँग समन्वय गरेर धूलो नियन्त्रण गर्न आफू लागि पर्ने उनको प्रतिबद्धता छ ।


नेपाल २७ स्वर्णसहित शीर्षस्थानमा, भुटान स्वर्ण पदक विहीन, कसले कति जिते ?
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । 

नेपाल कुल ६० पदकसहित पदक तालिकाको शीर्षस्थानमा रहेको छ । त्यस्तै भारत कुल ५४ पदकसहित तालिकाको दोस्रो स्थानमा छ । 

भुटान र बंगलादेशको कुल पदक समान ३/३ छ । 

१३ औं सागको अफिसियल वेभसाइट 13sagnepal.comका अनुसार नेपालले हालसम्म २७ स्वर्ण, १४ रजत र १९ कास्य पदक जितेको छ । त्यस्तै भारतले २३ स्वर्ण, १९ रजत र १२ कास्य पदक जितेको छ । 

तालिकाको तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण, १४ रजत र १३ कास्य पदक जितेको छ । 

चौथो स्थानमा रहेको श्रीलंकाले ७ स्वर्ण, १८ रजत र ३२ कास्य पदक जितेको छ । 

पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कास्य पदक जितेको छ । 

तालिकाको छैटौं स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र २ कास्य पदक जितेको छ । 

अन्तिम स्थानमा रहेको भुटानले हालसम्म कुनै पनि स्वर्ण पदक जित्न सकेको छैन । भुटानले ३ कास्य पदक जितेको छ । 


साग प्रतियोगिता : जनकपुरधाममा कुस्तीका खलिफालाई भिडाउन ‘अखडा’ तयार
१३ औं दक्षिण एसियाली खेलकुद (साग) २०७६ को कुस्ती प्रतियोगिताका लागि २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सम्पूर्ण तयारी पूरा भएको छ । 

मंसिर २० देखि २३ गतेसम्म आयोजन हुने कुस्ती प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहित ५ देशका खेलाडी (खलिफा) ले भाग लिनेछन् । कुस्ती खेल्ने खेलाडीलाई पहलवान तथा खलिफा भन्ने गरिन्छ । कुस्ती खेल्ने ठाउँलाई ‘अखडा’ भनिन्छ ।

सागमा सहभागी हुने देशमध्ये माल्दिभ्स र भुटान सहभागी नहुने धनुषा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख विनोद सिंहले बताए । महिला र पुरुष गरी छुट्टाछुट्टै टीम सहभागी हुने प्रतियोगितामा पाकिस्तानको तर्फबाट महिला टीम सहभागी हुने छैन । विभिन्न तौल समूहको चरणवद्ध १० वटा खेल हुने प्रतियोगिताको सबै बन्दोबस्त पूरा भएको छ । खेलाडीलाई जनकपुरदेखि महोत्तरीको बर्दिवासस्थित होटलमा राख्नका लागि कोठाहरू समेत बूक गरिसकिएको छ । 

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उनको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

'महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ,' उनले भने ।

अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छ– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ, भने ।

पूर्वउपप्रधान मन्त्रीसमेत रहेको अध्यक्ष केसीले भने, 'मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।'


कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि तयारीका काम तीव्र
चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलंकी–महाराजगञ्ज सडकमा तयारीका काम शुरू गरिएको छ ।

यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् ।

चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम शुरू हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।


प्रधानमन्त्री ओलीको मृर्गाैला प्रत्यारोपणबारे नेकपामा छलफल : के भयो निर्णय ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । 

पार्टी मुख्यालय धूम्बाराहीमा बुधवार बसेको सचिवालय बैठकले उनको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

‘महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ,’ उनले भने, ‘मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।’

कांग्रेसको केन्द्रीय समिति बैठक मङ्सिर २६ देखि, उपनिर्वाचनको समीक्षा हुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २६ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

उपनिर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समितिको बैठकमा उपनिर्वाचनसहित अन्य विषयमा छलफल हुने मुख्य सचिव कृष्ण पौडलले बताए ।

'उपनिर्वाचनको समीक्षा लगायत पार्टीको सांगठानिक विषयमा छलफल गर्ने तयारी छ,' पौडेलले भने, 'यससँगै पार्टीको आन्तरिक काम कारवाही, समसामयिक राजनीतिक मुद्दालगायत विषयमा केन्द्रीय समिति बैठकले छलफल गरेर नयाँ धारणा सार्वजनिक गर्नेछ ।'

कुमुतेमा अनुपमाले जितिन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा महिला ६८ केजी माथिको कुमुतेमा स्वर्ण जितेको छ ।

बुधवार महिला ६८ केजी माथिको कुमुतेमा अनुपमा मगरले नेपालालई स्वर्ण दिलाएकी हुन् ।

उनले पाकिस्तानी खेलाडी नार्गिसलाई ६-३ ले हराइन् ।

हालसम्म नेपालले २५ स्वर्ण जितेको छ भने भारतले ११ स्वर्ण हात पारेको छ ।

कलंकी–कोटेश्वर सडकमा पनि साग खेलकुद सञ्चालन हुने, ट्राफिकको सूचना – गाडी नचलाउनू !
चक्रपथ सडकमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत ‘साइकलिङ रेस च्याम्पियनशीप’ हुने भएपछि ट्राफिक प्रहरीले सर्वसाधारणका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

साइकलिङ प्रतियोगिता हुने दिन मंसिर २० गते शुक्रवार र २१ गते शनिवार चक्रपथमा सवारीसाधन चलाउँदा ख्याल गर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले अनुरोध जारी गर्दै शुक्रवार कलंकी–कोटेश्वर सडकखण्डमा आवतजावत गर्दा सर्भिस लेन प्रयोग गर्न अनुरोध गरेको छ ।

सीमाबारे नरेन्द्र मोदीसँग सिधै कुरा गर्न ओलीको विशेषदूत भएर नेता नेपाल भारत जाने

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल भएको छ ।

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालका भू-भागहरू समटेपछि उत्पन्न भएको परिस्थितिका बारेमा भारतको राजनीतिक नेतृत्वसँग सिधा छलफल गर्न नेता नेपाललाई भारत पठाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेका थिए ।

बैठकमा आफू उपस्थित नभएपनि आफ्नो प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिन प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका हुन् ।

उपनिर्वाचनको समीक्षा रिपोर्ट पठाउन स्थानीय पालिकालाई नेकपाको निर्देशन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समिक्षात्मक रिपोर्ट केन्द्रमा पठाउन सम्बन्धित पार्टी कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले सम्बन्धित कमिटीबाट रिपोर्ट आएपछि आगामी सचिवालय बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा गर्ने निर्णय गरेको छ ।

आगामी सचिवालय बैठक मंसिर २३ गते बिहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीलाई निर्णयबारे जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी गराएको बताए ।

उसुको थाउलोमा दीपक हमालले दिलाए स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले स्वर्ण पदकको संख्यामा लगातार थप्दै गएको छ । 

बुधवार उसुको थाउलोमा नेपालका लागि दीपक हमालले स्वर्ण पदक दिलाएका हुन् । यससँगै नेपालले उसुबाट तेस्रो स्वर्ण पदक जितेको छ । 

उनले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् । 

दर्शनार्थी बोकेको पिकअप दुर्घटना, २ जनाको मृत्यु, १६ जना घाइते
महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

अठार दर्शनार्थी बोकेर बुधवार बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो ।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ । 

कार्यकारीको जिम्मा पाएपछि प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बुधवार बिहान ९ : ३० बजेदेखि बैठक बसिरहेको हो । 

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । बैठकमा ओलीबाहेक सचिवालयका सदस्यहरू उपस्थित छन् । 

यसअघि बसेको सचिवालय बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, संगठन विस्तार लगायत समसामयिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा उपचारका लागि गएको बेला प्रचण्डले पहिलो पटक बैठकको अध्यक्षता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्