
लामो समययता फर्ममा नरहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शानदार शतकीय पारी खेलेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बिहीवार कीर्तिपुरमा जारी खेलमा ज्ञानेन्द्रले शतकीय योगदान गरेका हुन् ।
५३ बलको सामना गरेका ज्ञानेन्द्रले ८ छक्का र ५ चौकाको मद्दतमा १ सय रनको योगफल पूरा गरे ।
शतक पूरा गरेलगत्तैको बलमा छक्का प्रहार गरेका मल्ल अर्को बलमा आउट भए । ५५ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा १ सय ७ रनको योगफल उनले जोडे ।
यसअघि पूर्वकप्तान पारस खड्का २८ बलमा ५७ रन जोडेर आउट भएका थिए । पारसले ९ चौका र १ छक्का प्रहार गरे ।