२१ जेठ २०८३, बिहीबार

बुटवलमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिने

मंसिर १९, २०७६
बुटवलमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिने

विपद् व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

उपमहानगरपालिकाले सबै वडाध्यक्ष, आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारसँग बिहीवार बुटवलमा स्थानीय आपतकालीन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर छलफल गरेको छ ।

विपद्लाई रोक्न/न्यूनीकरण गर्न कसरी काम गर्ने, स्थानीय सरकारको अधिकार के छ ? विपद्का सामग्री कति र कस्ता चाहिन्छन् भन्ने विषयमा छलफल गरिएको हो । कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले विपद्को सहजै रूपमा व्यवस्थापन गर्ने गरी आफूहरू अगाडि बढेको बताइन् । 

बुटवल तथा आसपासको क्षेत्रमा प्राकृतिक विपद्को ठूलो जोखिम छ । बुटवल भएर बग्ने तिनाउ नदीले आसपासका बस्तीहरू वर्षातमा जोखिममा पर्छन् । उनले बुटवलका सबै १९ वटै वडामा विपद्कालीन उद्दारका सामग्री भण्डार गरिएको जानकारी दिइन् । 

कार्यक्रममा यूएनएफपीए ५ नम्बर प्रदेश संयोजक रामबहादुर थापाले विपद् न्यूनीकरण गर्न सूचना र पूर्वतयारी महत्त्वपूर्ण रहेको बताए । ‘विपद्बाट क्षति कम गर्न पूर्व तयारी र सूचना प्रणाली महत्त्वपूर्ण पक्ष हुन् । त्यसको साथै स्थानीय तहले मात्र तयारी गरेर पुग्दैन । प्रत्येक घर/समाज पनि यसप्रति चनाखो र सचेत हुन आवश्यक छ,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले विपद् क्षेत्रमा रणनीतिगत रुपमा काम गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक नगेन्द्र अर्याल, विपद् व्यवस्थापक केन्द्रका कार्यक्रम संयोजक सविन अधिकारी, बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन केन्द्रका फोकल पर्सन विजयदेव भूर्तेल लगायतले बोल्दै विपद्बाट जोगिनु सबै कर्तव्य रहेको बताए । 

सो अवसरमा विपद् व्यवस्थापका लागि आवश्यक टीभी, प्रिन्टर लगायत सामग्री पनि हस्तान्तरण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्