२८ जेठ २०८३, बिहीबार

विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुँदै

मंसिर १९, २०७६
विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुँदै

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ ।

महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलनमार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । 

महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्‍याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरूलाई अवार्ड कार्यक्रममार्फत् महासंघले सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्धिसिद्धि सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । अवार्डमा जगदम्बा स्टिल्स र केस कन्स्ट्रक्सन इक्विप्मेन्ट पाउरड बाई विधामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाल सरकारका अन्य मन्त्रीहरू, सचिवहरू, विभिन्न विभागका महानिर्देशकहरू सहित देशभरबाट आएका निर्माण व्यवसायीहरूको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिनुभयो । अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति’ गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रूपमा पुरस्कृत हुने भएका छन् । 

विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ । 

नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ । 

निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने  टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसै वर्षदेखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरूलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गर्न लागिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईंले जानकारी दिए ।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार विहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ । 
प्रभात फेरि कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहमद इस्तियाक राई रहनु हुने महासंघले जनाएको छ । साथै सोही अवसरमा महासंघको मुखपत्र निर्माण समाचारको लोकार्पण गरिने भएको छ । 
प्रदेश महासंघ तथा सम्पूर्ण जिल्ला संघहरूमा समेत आइतबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिने महासंघको विज्ञप्तिमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्