
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको महसूस गरेको बताएका छन् ।
बिहीवार राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘औद्योगिक सम्बन्धका मुख्य पक्षहरू रोजगारदाता र ट्रेड युनियनको सोचाइ र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दीगो बनाउन सक्ने बताए ।
यस किसिमको सोचले देशमा औद्योगिक प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै उनले यस सम्बन्धलाई थप बलियो र भरपर्दाे बनाउन अझै थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।
रोजगारदाता र ट्रेड युनियनले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरूले पनि यही रुपमा व्यवहार गरिरहेको उनले बताए ।
उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्त्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिएपनि एकले अर्काेलाई दोष दिएर नभई व्यावहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
‘श्रम सम्बन्ध विभिन्न आरोह–अवरोह पार गर्दै हालको अवस्थामा आइपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठ्यारो पनि हामीले भोगेकोले आगामी दिनहरूलाई सहज बनाउँदै लैजानुपर्छ,’ उनले भने ।
आफूहरू असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उनले बताए । ‘श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानूनी र नीतिगत सुधार आवश्यक छ हामीसँगै अघि बढ्न तयार छौं,’ उनले भने ।
ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानून र नीतिमा सुधार गर्ने काममा आफूहरू लागि परेको पनि बताए । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नबिर्सेको उनले बताए ।
‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुँदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढीभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामीले काम गरिरहेका छौं । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।