२४ जेठ २०८३, आइतबार

काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन मेलम्चीको पानी

मंसिर २०, २०७६
काठमाडौंका ११ लाख मानिसलाई पुग्दैन मेलम्चीको पानी

सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो । 

आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयाजनको कुल ९० प्रतिशत मात्र काम भएको छ । मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्नेछ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ । 

अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ । सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ । त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ । यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ । 

मेलम्ची आएपछि जम्मा हुने पानी काठमाडौं उपत्यकाको कुल जनसंख्यालाई समानुपातिक वितरण गर्दा दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर मात्र पुग्छ । जुन तोकिएको मापदण्डभन्दा २६ दशमलव २० लिटर न्यून हो । हाल उपत्यकामा दैनिक प्रतिव्यक्ति औसत ३३ लिटर खानेपानी वितरण भइरहेको छ ।

पहिलो चरणमा काठमाडौं झर्ने दैनिक १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गरिने मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख भोजविक्रम थापाले बताए । बढ्दो सहरीकरणका साथै जनसंख्या वृिद्धका कारणले पानीको माग बढ्दै गए पनि पर्याप्त स्रोतको अभावका कारण पानी उत्पादन क्षमता बढाउन नसकिएको केयुकेएलले जनाएको छ ।

केयुकेएलले विभिन्न मुहान र भूमिगत स्रोतबाट पानीको उत्पादन गर्दै आएको छ । तर, माग र आपूर्तिबीच ठूलो खाडल रहेकाले उपत्यकाआसपासका सबै मुहान प्रयोग गर्दासमेत त्यो खाडल परिपूर्ति गर्न नसकिने र भूमिगत पानीले समेत त्यसलाई पूर्ति गर्न नसक्ने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए ।   नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्