
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दाबी गरे ।
नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्वील चियर वितरण कार्यक्रमलाई शनिवार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिए ।
‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता/कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनुहुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ,’ उनले भने ।
देउवाले पार्टीभित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दाबी गरे । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेषगरी धरानमा कम्युनिस्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए ।
‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो,’ उनले भने । कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरू निर्वाचित भएको उनले बताए ।