
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
नौ दिन लामो अस्पताल बसाइपछि बालुवाटार फर्केर आराम गरिरहेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो ४ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यसअघि मन्त्रिपरिषद् हेरफेरपछि मंसिर ६ गते बैठक बसेको थियो । बैठकमा नवनियुक्त मन्त्रीहरूलाई बधाई र निर्देशन दिएका प्रधानमन्त्री ओली १० गते बिरामी परेपछि अस्पताल भर्ना भएका थिए ।
एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । ओली शल्यक्रिया गरिएको ९ दिनमा गत बिहीवार डिस्चार्ज भएका थिए ।
प्रधानमन्त्री ओलीले पार्टीको काम कारवाहीबारे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग अस्पतालमै पटक-पटक परामर्श गरेका थिए ।
आजै अपरान्ह १ बजे अध्यक्ष प्रचण्डले सचिवालय बैठक पनि डाकेका छन् । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका सन्दर्भमा आफूले तयार पारेको ६ महिने कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।
पार्टीको कार्यकारी अधिकार प्राप्त गरेका अध्यक्ष प्रचण्ड केही दिनयता राजनीतिक रूपमा सक्रिय बनेका छन् ।
आइतवार बिहान र साँझ आफ्नै निवास खुमलटारमा नेताहरूलाई बोलाएर पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेका थिए ।
प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम लगायतका शीर्ष नेताहरूलाई आफ्नै निवासमा बोलाएर पार्टीलाई थप गति कसरी दिने भन्ने विषयमा छलफल गरेका थिए ।
सोमवार बिहान पनि प्रचण्ड नेताहरूसँग छलफलमै व्यस्त रहे ।