
जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा संलग्न २ हजार ६ सय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।
विभिन्न आपराधिक घटनामा संलग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र ३ महिला छन् । प्रहरीका अनुसार अनुपातमा अभियुक्तहरुले ६ महिनादेखि २ वर्षसम्म कैद सजाय पाएका छन् । उनीहरूबाट ७ लाख ८३ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
अपराध मुद्दामा ४४६, अभद्र व्यवहारमा ४१३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ ।
अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘क्लिन चितवन अभियान’ अन्तर्गत विभिन्न घटनामा संलग्न १ हजार ७४७ जनालाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ ।
जबरजस्ती वेश्यावृत्तिमा लगाउने ५ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ३ वटा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको छ । जुवातास खेल्ने १३३ जनालाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले अवैध लागूऔषध खरिद बिक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ४० जनालाई मुद्दा चलाएको छ । जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १५० विघा गाँजा नष्ट गरेको छ । जिल्लामा ६ महिनाको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने २१ हजार ५१३ वटा सवारी तथा सवारी चालकलाई कारवाही गरिएको छ । उनीहरूबाट १ करोड ६९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।